
इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि तिल्केनी–सिमलगोलाइ सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालन गर्ने तयारी भए पनि अझै सञ्चालनमा आउन सकेको छैन । दस दिन बितिसक्दा पनि वैकल्पिक सडक खुल्न नसक्दा यात्रु र यातायात व्यवसायीले निकै सास्ती व्यहोर्नु परेको छ ।
सडकखण्डअन्तर्गत माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरी साना सवारी सञ्चालनको प्रयास भइरहेको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले बताए । तर खोलामा पानीको उच्च बहाव र आवश्यक ह्युमपाइपको अभावका कारण तत्काल सञ्चालन सम्भव नभएको उनले बताए ।
“हामीले राजदुवाली क्षेत्रमा धेरै प्रयास गर्यौँ, अब जोगमाई खोलामा डाइभर्सन बनाउँदैछौँ,” भट्टराईले भने, “तर ह्युमपाइप नहुँदा केही दिन ढिलाइ हुनेछ ।” उनका अनुसार पाँचथरबाट ह्युमपाइप मगाइएको छ, जुन मंगलबारसम्म आइपुग्ने अपेक्षा गरिएको छ । डाइभर्सन निर्माणका लागि हाल चारवटा स्काभेटर परिचालन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय इलामले आइतबार सरोकारवाला निकायसँगको स्थलगत निरीक्षणपछि मेची राजमार्गको विकल्पका रूपमा तिल्केनी–सिमलगोलाइ सडक सञ्चालन गर्ने निर्णय गरेको थियो । प्रमुख जिल्ला अधिकारी गणेश न्यौपानेले भने, “सडक चाँडै खुलाउने प्रयास भइरहेको छ । प्राविधिक पक्ष सडक डिभिजनले सम्हालिरहेको छ, हामी समन्वयमा छौँ ।”
गत असोज १८ गतेको बाढीले बेलीब्रिज बगाएपछि इलाम–राजदुवाली सडकखण्ड अवरुद्ध भएको हो । गत असारमा मात्रै निर्माण सम्पन्न गरिएको उक्त पुल बगाएपछि आवागमन पूर्णरूपमा ठप्प बनेको छ । इलाम सदरमुकामको तिल्केनीबाट गोदक जोड्ने यो वैकल्पिक सडक अहिले प्रमुख विकल्पका रूपमा हेरिएको छ ।
हाल तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल सडकमार्ग हुँदै साना सवारीसाधन सञ्चालनमा छन् । तर ठूला तथा मालवाहक सवारीसाधनका लागि उपयुक्त वैकल्पिक मार्ग अझै पहिचान हुन सकेको छैन । तीब्र मोड र साँघुरा सडकका कारण ठूला सवारी सञ्चालन गर्न कठिनाइ रहेको प्रजिअ न्यौपानेले बताए ।
लगातारको वर्षा र पहिरोका कारण इलाम जिल्ला विगत १० दिनदेखि छिमेकी झापासँग सडक सञ्जालबाट विच्छेद भएको छ । इलाम–राजदुवाली सडक बन्द भएपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु तथा सवारी सञ्चालनमा ठूलो समस्या देखिएको छ । जटिल भौगोलिक संरचनाका कारण तत्काल सडक सञ्चालनमा ल्याउन कठिन भएको सडक डिभिजन प्रमुख भट्टराईले जानकारी दिए ।





