
वाशिङटन डीसी । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा सहभागी हुन अमेरिका पुगेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अमेरिकी चेम्बर अफ कमर्सले आयोजना गरेको ‘बिजनेस डायलग’ कार्यक्रमलाई सम्बोधन गरेका छन् ।
‘फ्रम द हिमालयज टु द हार्टल्याण्ड : अमेरिका–नेपाल साझेदारीको मजबुती’ भन्ने विषयमा आयोजित उक्त संवाद कार्यक्रममा मन्त्री खनालले नेपालको हालको आर्थिक अवस्था, लगानीका अवसर र द्विपक्षीय आर्थिक सहयोगका सम्भावनाबारे विस्तृत चर्चा गरेका थिए ।
कार्यक्रममा अमेरिकास्थित नेपाली राजदूत लोकदर्शन रेग्मी, दूतावासका अधिकारी तथा अमेरिकी चेम्बर अफ कमर्सका सदस्यहरू उपस्थित थिए ।
अर्थमन्त्री खनाल र आईएमएफका उपप्रबन्ध निर्देशकबीच भेट
यसैबीच, अर्थमन्त्री खनालले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का उपप्रबन्ध निर्देशक बो लिबसँग भेटवार्ता गरेका छन् । सोमबार वाशिङटन डीसीमा सम्पन्न भेटमा वित्तीय स्थायित्व, आर्थिक सुधार र सहयोगका विषयमा छलफल भएको नेपाली दूतावासले जनाएको छ ।
भेटमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, दूतावासका प्रतिनिधि, मन्त्री खनालको भ्रमण टोलीका सदस्य तथा आईएमएफका अधिकारीहरू उपस्थित थिए । अर्थमन्त्री खनाल विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन आइतबार अमेरिकाको राजधानी वाशिङटन डीसी पुगेका हुन् ।





