पोखरामा ‘मोडिफाइड’ मोटरसाइकलविरुद्ध कारबाही तीव्र



पोखरा । पोखरामा स्वरूप परिवर्तन (‘मोडिफाइड’) गरिएका र चर्को ध्वनि निकाल्ने मोटरसाइकलहरू नियन्त्रणमा लिएर कारबाही सुरु गरिएको छ । पछिल्ला केही दिनमा त्यस्ता चारवटा मोटरसाइकल र तिनका चालकलाई कानुनी कारबाहीको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

कारबाहीमा परेकामा पोखरा–१० बुद्धचोकका सुवास कार्की, पोखरा–३ का एल्विन पुन, पोखरा–६ का सञ्जिव दुवाडी र पोखरा–५ का अमृत चापागाईं रहेका छन् । उनीहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइ ट्राफिक नियमअनुसार कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए ।

उनका अनुसार, कास्की जिल्लाभरका प्रहरी चौकी र ट्राफिक प्रहरी कार्यालयले स्वरूप परिवर्तन गरिएका तथा ध्वनि प्रदूषण फैलाउने मोटरसाइकलहरूलाई नियमित रूपमा नियन्त्रणमा लिँदै आएका छन् ।

प्रहरीले मोटरसाइकलमा अनधिकृत रूपमा परिवर्तन गरी सडकमा होहल्ला गर्ने, चर्को आवाज निकाल्ने वा ट्राफिक सुरक्षामा जोखिम पुर्‍याउने सवारी साधन देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी दिन सर्वसाधारणलाई अनुरोध गरेको छ । जानकारी दिने व्यक्तिको गोपनीयता सुरक्षित राखिने पनि प्रहरीको भनाइ छ ।

गत वर्ष पनि कास्की प्रहरीले यस्तै अभियान सञ्चालन गर्दै स्वरूप परिवर्तन गरिएका मोटरसाइकलमाथि व्यापक कारबाही गरेको थियो ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार, सवारीसाधनमा स्वीकृति विना साइलेन्सर, सिट, रङ, नम्बर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, इञ्जिन वा चेसिसमा परिवर्तन गरेमा वा ध्वनि प्रदूषण हुने पार्टपुर्जा जडान गरेमा रु १५ हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रहरीका अनुसार, सहरी क्षेत्रमा मोटरसाइकलको स्वरूप परिवर्तन गरी चर्को आवाजमा कुदाउने प्रवृत्तिले सडक दुर्घटनाको जोखिम बढाउनुका साथै ध्वनि प्रदूषणमार्फत समाजमा नकारात्मक असर पुर्‍याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्