वडा अध्यक्ष कप भेट्रान फुटबलको फाइनलमा फ्रिडम र चावहिल



काठमाडौं ।
चावहिलमा जारी पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको फाइनलमा फ्रिडम फाइटर ‘बी’ र चावहिल स्पोर्ट्स क्लब ‘ए’ प्रवेश गरेका छन्।

मंगलबार भएको पहिलो सेमिफाइनलमा फ्रिडमले कैलालीलाई ६–० को फराकिलो अन्तरले पराजित गर्‍यो। ‘म्यान अफ द म्याच’ घोषित विजय महतले २ गोल गरे भने प्रकाश राना मगर, कृष्ण मालाकार र कन्या गुरुङले समान १–१ गोल योगदान दिए। बाँकी १ गोल आत्मघाती थियो।

दोस्रो सेमिफाइनलमा चावहिलले बानेश्वर फ्रेन्डसिपलाई १–० गोलले हरायो। निर्णायक गोल नितिन गुरुङले गरे भने गोलरक्षक सचिन श्रेष्ठ ‘म्यान अफ द म्याच’ बने।

प्रतियोगिताको फाइनल बुधबार हुनेछ। विजेता टोलीले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन्। साथै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट खेलाडी, गोलरक्षक र डिफेन्डरलाई जनही ५ हजार रुपैयाँको पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्