
काठमाडौं, असोज २८ गते ।
फ्रान्सको पेरिसमा यही अक्टोबर १७ देखि १९ तारिखसम्म हुने विश्व कराते च्याम्पियनसिप छनोट प्रतियोगितामा नेपालका चार खेलाडी प्रतिस्पर्धा गर्ने भएका छन्।
छनोटका लागि चार खेलाडीसहित छै सदस्यीय नेपाली टोली बुधबार फ्रान्स प्रस्थान गर्दैछ। टोलीमा एक पुरुष र तीन महिला खेलाडी छन्। पुरुषतर्फ स्वनिम मानन्धरले एकल कातामा प्रतिस्पर्धा गर्नेछन् भने महिलातर्फ ६८ केजीमाथि एरिका गुरुङ, ५० केजीमुनि वर्षा बुढा र ५५ केजीमुनि सविना श्रेष्ठले चुनौती पेश गर्ने छन्।

स्वनिमको स्पर्धामा ४९, एरिकाकोमा ३४, वर्षाकोमा ३८ र सविनाकोमा ४६ प्रतिद्वन्द्वी रहने छन्। हरेक स्पर्धामा शीर्ष ६ स्थानमा रहने खेलाडीले आगामी नोभेम्बर २७ देखि ३० तारिखसम्म इजिप्टको काइरोमा हुने २७औं विश्व कराते च्याम्पियनसिपमा स्थान पाउने छन्। हालसम्म २४ खेलाडी विश्व च्याम्पियनसिपका लागि छनोट भइसकेका छन्।
छनोट प्रतियोगितामा विभिन्न १२ स्पर्धासहित कुल ५४९ खेलाडी सहभागी हुनेछन्। नेपालकी सानुमाया थिङ भने यसअघि नै महिला एकल कातामा प्रत्यक्ष रूपमा इजिप्टको लागि छनोट भइसकेकी छन्।
टोलीको प्रशिक्षकमा कुशल श्रेष्ठ रहेका छन् भने टोली व्यवस्थापक तथा प्रशिक्षक परीक्षार्थीको रूपमा अमिर राना पनि सहभागी हुनेछन्। टोलीका लागि सुशान्त अधिकारीले ट्रयाकसुट प्रायोजन गरेका छन्।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, सदस्य प्रकाशकुमार कुसारी, राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्ट र उप–निर्देशक दीपक श्रेष्ठले मंगलबार एक कार्यक्रमबीच टोलीलाई बिदाइ गरे।
सदस्य–सचिव घिसिङले अवसरलाई ऐतिहासिक मोडका रूपमा उपयोग गर्दै उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गर्न खेलाडीलाई शुभकामना दिए।





