गौघाट ग्रीन रनको उपाधि युवकराज र दीपशीखालाई



खजुरा, बाँके ।
जलवायु परिवर्तनको सचेतना फैलाउने उद्देश्यसहित आयोजित गौघाट ग्रीन रनमा जुम्लाका युवकराज बुढा र बाँके कोहलपुरकी दीपशीखा शाही विजेता बनेका छन् ।

धारा नेपालगन्ज म्याराथनको भगिनी कार्यक्रमका रूपमा गत वर्षदेखि सुरु गरिएको यो दौड प्रतियोगिता खजुरा गाउँपालिका–५ सितापुरमा सम्पन्न भएको हो । पाँच किलोमिटर पुरुषतर्फ नरैनापुरका अरविन्द कुमार यादव दोस्रो र जुम्लाका यमराज खत्री तेस्रो भए । त्यस्तै, खुला महिला (२.५ किमी) तर्फ कोहलपुरकी दीपशीखा शाही पहिलो, कोहलपुरकी स्वस्तिका शाही दोस्रो र बर्दियाकी राधा सुनार तेस्रो स्थानमा रहे ।

खजुरा पालिका स्तरीय पाँच किलोमिटर छात्र प्रतिस्पर्धामा ज्ञानोदय माविका धनिराम खटिक पहिलो, जनता माविका निकेश खत्री दोस्रो र अमर माविका युसुफ विक तेस्रो भए । छात्रा २.५ किमीतर्फ अमर माविकी विनिसा एलजी पहिलो, योगिनी माविकी प्रशंसा विसी दोस्रो र अमर माविकी विनिता पुलामी तेस्रो स्थानमा परे ।

विजेताहरूलाई खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफान, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तिरन गौतम, मिस नेपाल वल्र्ड २०२३ श्रृच्छा प्रधान, केएल दुगड ग्रुपका सिईओ प्रदीप छाजेड, वडाध्यक्ष धनराम ओली र केन्याका विश्वस्तरका धावक जोन केलाईले नगद र पदक वितरण गरे ।

सो अवसरमा मिस नेपाल श्रृच्छा प्रधानले “प्रकृति हाम्रो पहिलो गुरु हो, त्यसलाई जोगाउन सकेमात्र मानव अस्तित्व जोगिन्छ” भन्दै प्लास्टिक प्रयोग घटाउन सबैलाई आग्रह गरिन् । उनले भनिन्, “दौडले समाजलाई जोड्छ र स्वस्थ राख्छ, त्यसैले आजैदेखि स्वस्थ समाज निर्माणतर्फ लागौं ।”

कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष विकले ग्रीन रनले जलवायु सचेतना फैलाउने काममा ठूलो भूमिका खेलेको बताउँदै आगामी दिनमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाए । लुम्बिनी प्रदेशका सदस्यसचिव गौतमले पनि यो दौडले समाजमा शान्ति, एकता र सद्भाव सन्देश फैलाउने उल्लेख गरे ।

विश्व रनिङ संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (AIMS) ले प्रमाणित गरेको धारा नेपालगन्ज म्याराथनको ११औं संस्करण आगामी मंसिर ६ गते (शनिवार) हुने भएको छ । प्रतियोगिताका लागि दर्ता खुला भइसकेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्