
दाङ । राप्ती गाउँपालिका–५ छोट्की सिसहनियाका भानुभक्त रोकायले आठ वर्षदेखि व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन् । पहिलाको फेन्सी व्यवसाय छोडेर पूर्ण रूपमा कृषि पेशामा लागेका रोकाय अहिले केरा खेतीबाट वार्षिक पाँच लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।
“अरू खेतीपातीको तुलनामा केराबाट आम्दानी बढी हुने भएकाले यो व्यवसाय रोजेको हुँ,” रोकाय भन्छन् । उनले सुरुवाती चरणमा चार कट्ठा जमिनबाट केरा खेती सुरु गरे पनि अहिले दुई बिघासम्म विस्तार गरेका छन् । यस वर्ष थप साढे एक बिघामा खेती बढाउने तयारीमा छन् ।
रोकायले जिनाइन र मालभोग जातका केरा खेती गर्दै आएका छन् । उनका अनुसार सिसहनिया क्षेत्रमा अहिले धेरै किसान केरा खेतीतर्फ आकर्षित भएका छन् । गत वर्ष मात्रै उनले एक याममा चार–पाँच लाख रुपैयाँसम्मको आम्दानी गरेका थिए । तर, यस वर्ष भारतीय केराको आयात बढेकाले स्थानीय उत्पादनको मूल्यमा गिरावट आएको उनको भनाइ छ ।
“व्यापारीहरूले दर्जनको मूल्य रु २० देखि २५ मात्रै राखेका छन्, जसले किसानलाई मर्का परेको छ,” रोकायले भने । “भारतको सस्तो केरा बजारमा आउँदा हाम्रो उत्पादन बिक्री गर्न गाह्रो भइरहेको छ । स्थानीय र प्रदेश सरकारले प्राविधिक तथा नीतिगत सहयोग गर्नुपर्ने बेला आएको छ ।”
उनका अनुसार अहिले सिसहनियामा ‘केरा प्रवर्द्धन कृषक समूह’ गठन गरिएको छ, जसले किसानका समस्या समाधानका लागि छलफल र पहल गर्दै आएको छ । रोकायले तीन जनालाई स्थायी रोजगारी दिँदै आएका छन् । तुलसीपुर, घोराही, लमही र बुटवलका व्यापारीहरू नै घरमै आएर केरा खरिद गर्न आउने गरेको उनले जानकारी दिए ।
कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभर ७३० हेक्टर क्षेत्रमा व्यावसायिक केरा खेती गरिएको थियो, जसबाट ९,९७३ मेट्रिकटन केरा उत्पादन भएको छ । उनले जिल्लामा केरा खेतीको प्रशस्त सम्भावना रहेको बताउँदै किसानलाई खेती विस्तारका लागि कार्यालयमार्फत अनुदान प्रदान गरिँदै आएको जानकारी दिए ।





