मन्त्री घिसिङसँग कोरियाली राजदूत पार्कको शिष्टाचार भेट |



काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार, यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालका लागि कोरियाली राजदूत पार्क ताइयोङले सोमबार ऊर्जा मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।

भेटका क्रममा राजदूत पार्कले मन्त्री घिसिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले नेपाल–कोरिया सम्बन्धलाई अझ सुदृढ बनाउन इच्छुक रहेको बताए ।

सो अवसरमा मन्त्री घिसिङले दुई देशबीचको दीर्घकालीन आर्थिक सहकार्यप्रति धन्यवाद ज्ञापन गर्दै ऊर्जा सन्तुलन र विद्युत् निर्यातका लागि ठूला जलाशययुक्त जलविद्युत् आयोजना आवश्यक रहेको उल्लेख गरे । उनले ५०० मेगावाटभन्दा ठूला जलविद्युत् आयोजनामा कोरियाको सहयोग र लगानीका लागि आग्रह गरे ।

त्यसैगरी, मन्त्री घिसिङले कोरियन सरकार र निजी क्षेत्रसँग साझेदारीमा हरित हाइड्रोजन उत्पादनको नमुना परियोजना सञ्चालन गरी त्यसबाट मलखाद उत्पादन र सार्वजनिक यातायात सञ्चालनमा उपयोग गर्न सकिने सुझाव दिए ।

रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत कोरिया जाने नेपाली श्रमिकको कोटा वृद्धि, सीप विकास तालिम, र फर्किएपछि उद्यमशीलता प्रवर्द्धनमा सहयोग गर्न पनि उनले आग्रह गरे । साथै, अरुण नदी करिडोरलाई पूर्व–पश्चिम प्रसारण लाइनसँग जोड्ने इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइनका लागि कोरियन एक्सिम बैंकको सहायता छिटो टुंग्याउन तथा रेलमार्ग निर्माण र मर्मत क्षमतामा सहयोग गर्न समेत उनले अनुरोध गरे ।

भेटमा राजदूत पार्कले कोरियन सरकारी कम्पनीको लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको प्रगतिबारे जानकारी दिए । उनका अनुसार आयोजनाको निर्माण ७० प्रतिशत पूरा भइसकेको छ र आगामी डिसेम्बरमा मुख्य सुरुङ छिचोल्ने तयारी भइरहेको छ । उनले उक्त समारोहमा मन्त्री घिसिङको उपस्थिति अपेक्षा गर्दै परियोजना अगाडि बढाउन सरकार र नेपाल विद्युत् प्राधिकरणको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

राजदूत पार्कले कोरियाली कम्पनीहरूलाई नेपालको ऊर्जा क्षेत्रमा आकर्षित गर्न निजी क्षेत्रका उत्पादकहरूसँग सहकार्यमा सेमिनार आयोजना गर्न लागिएको र प्रसारण लाइन निर्माणमा सहयोगबारे अर्थ मन्त्रालयसँग छलफल भइरहेको जानकारी पनि दिए ।

प्रतिक्रिया दिनुहोस्