जुम्लामा हराउँदै परम्परागत ओखल



जुम्ला । आधुनिक उपकरणको प्रयोग बढ्दै गएसँगै जुम्लामा परम्परागत धान कुट्ने ‘ओखल’ हराउँदै गएका छन् ।

विद्युत् पहुँच विस्तार भएपछि जिल्लामा कुटानी–पिसानी मिलहरू तीव्र गतिमा स्थापना हुँदैछन् । यससँगै गाउँघरमा धान कुट्ने ओखल र ढिकीजस्ता परम्परागत साधन क्रमशः लोप हुँदै गएको स्थानीयवासी बताउँछन् ।

तिला गाउँपालिका–४, नुवाकोटकी राजकन्या सार्कीका अनुसार अहिले गाउँमा ओखल, ढिकी र जाँतोजस्ता उपकरण दुर्लभ हुन थालेका छन् । उनका अनुसार नुवाकोट क्षेत्रमा नौ गाउँका बासिन्दाले प्रयोग गर्ने ओखल अहिले नजिकका केही गाउँले मात्र प्रयोग गर्छन् ।

“मिल सञ्चालनमा आएपछि सबैले त्यहीँ कुटानी–पिसानी गर्न थालेका छन् । यसले समय र श्रम दुवै बचत गर्छ,” उनले भनिन् ।

तिला गाउँपालिका–४ का वडाध्यक्ष भद्रवीर सार्कीका अनुसार पहिले प्रायः हरेक घरमा ओखल हुन्थ्यो । तर अब टिक्के ओखल हराउँदै गएको छ र नयाँ पुस्ता यसबारे अनभिज्ञ हुँदै गएको छ ।

उनले भने, “आधुनिक उपकरणले जीवन सजिलो बनाएको छ, तर यससँगै परम्परागत सीप, प्रविधि र ज्ञान संकटमा परेका छन् । ती सांस्कृतिक सम्पदाको संरक्षणका लागि पालिका पहल गर्दैछ ।”

प्रतिक्रिया दिनुहोस्