नेपाल कबड्डी लिग सिजन–२ का लागि ५१२ नेपाली खेलाडी दर्ता



काठमाडौं, असोज २७ गते।
नेपाल कबड्डी लिग (एनकेएल) सिजन–२ का लागि देशभरबाट ५१२ जना नेपाली खेलाडीले दर्ता गरेका छन्। आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीका अनुसार पहिलो सिजनमा २७८ खेलाडी मात्र दर्ता भए पनि दोस्रो सिजनमा संख्या दोब्बर भएको छ।


प्रदेशगत विवरण अनुसार बागमती प्रदेशबाट १५५, सुदूरपश्चिमबाट १०३, लुम्बिनीबाट ९८, मधेशबाट ७०, कोशीबाट ३५, कर्णालीबाट २७ र गण्डकीबाट २४ खेलाडी दर्ता भएका छन्।
बेगानीका अनुसार यस सिजनमा विदेशी खेलाडीको रुचि पनि अत्यधिक बढेको छ। उनले ४०–५० जना विदेशी खेलाडी ड्राफ्टमा समावेश हुने बताएका छन्।
पहिलो सिजनमा थाइल्यान्ड, बंगलादेश, श्रीलंका र केन्याका १८ खेलाडीले सहभागिता जनाएका थिए।
नेपाल कबड्डी लिगको पहिलो सिजन २०२५ जनवरी १७ देखि ३१ सम्म सम्पन्न भएको थियो, जसमा जनकपुर नाइट्सले काठमाडौं माभरिक्सलाई ४३–४१ ले पराजित गर्दै उपाधि जितेको थियो।
सिजन–२ को ड्राफ्ट तथा प्रतियोगिताको मिति चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्