कैलाली र चावहिल सेमिफाइनलमा



काठमाडौं।


पाँचौँ वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा कैलाली र चावहिल स्पोर्ट्स क्लब ‘ए’ सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन्।
कैलालीले चावहिलको अर्को ‘बी’ टोलीलाई सडन डेथमा ७–६ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो। कैलालीका गोलरक्षक सुदन बोहरा ‘म्यान अफ द म्याच’ घोषित भए। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो।
त्यस्तै, चावहिल ‘ए’ ले बुटवल वडा नं. ६ लाई २–० गोलले हरायो। हरिकृष्ण महर्जन र दीपक लामाले गोल गर्दै टोलीलाई जित दिलाए।
प्रतियोगितामा बानेश्वर फ्रेन्डसिप र फ्रिडम फाइटर ‘बी’ पनि सेमिफाइनलमा पुगेका छन्। बानेश्वरले चितवन भेट्रानलाई ४–२ ले हरायो, जहाँ युद्ध शाहीले दुई गोल गरे भने पवि केसी र नारायण कार्कीले प्रत्येकी एक गोल गरे।
फ्रिडम ‘बी’ ले हेटौँडालाई २–० ले पाखा लगायो। विजेता टोलीका कृष्ण मालाकार र राजकुमार केसीले गोल गरे।
मंगलबार हुने सेमिफाइनलमा फ्रिडम ‘बी’ र कैलाली आमनेसामने हुनेछन् भने चावहिल ‘ए’ ले बानेश्वरसँग भिड्नेछ।

प्रतिक्रिया दिनुहोस्