
काठमाडौं, असोज २६ गते।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको खेलकुद विज्ञान अनुसन्धान केन्द्रले खेलाडीहरूको शारीरिक तन्दुरुस्ती परीक्षण सम्पन्न गरेको छ।
‘मिसन–२०२६’ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका उसु, कुस्ती, तेक्वान्दो, कराते, बक्सिङ, भलिबल, क्रिकेट र फुटबल गरी ८ खेलका ५८ खेलाडीको शारीरिक अवस्था परीक्षण गरी प्रतिवेदन तयार पारिएको हो।
केन्द्रका प्रमुख फिजियोथेरापिस्ट लक्ष्मण अधिकारीले उक्त प्रतिवेदन सोमबार राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई हस्तान्तरण गरे।
कार्यक्रममा अधिकारीले खेलाडीमा देखिएका सुधारका पक्ष, बलियो पक्ष र सुधार गर्नुपर्ने विषयबारे जानकारी गराएका थिए। उनले बाँकी खेलाडीहरूको पनि परीक्षण शीघ्र सम्पन्न गर्ने बताए।
सदस्य–सचिव घिसिङले परम्परागत प्रशिक्षण शैलीको अन्त्य गरी अनुसन्धान–आधारित आधुनिक प्रणाली अपनाउनुपर्नेमा जोड दिँदै अनुसन्धान केन्द्र र हाइ पर्फमेन्स सेन्टर स्थापना त्यही उद्देश्यका लागि गरिएको बताए।
उनका अनुसार, परिषद्सँग खेलाडीको क्षमता पहिचानका आवश्यक साधन तथा स्रोत उपलब्ध भएकाले यसको पूर्ण उपयोग गर्नुपर्ने समय आएको छ।
मिसन–२०२६ अन्तर्गत दोहोरो अंकमा पदकसहित स्वर्ण जित्ने लक्ष्य पूरा गर्न सबै निकाय गम्भीरतापूर्वक अघि बढ्नुपर्ने उनले बताए।





