
पर्थ (अष्ट्रेलिया) । वर्ल्ड टेबल टेनिस (डब्लुटीटी) युथ कन्टेन्डर प्रतियोगितामा सहभागी नेपाली टेबलटेनिस टोलीलाई एनआरएनए वेस्टर्न अष्ट्रेलियाले सम्मान गरेको छ । अक्टोबर ८ देखि ११ तारिखसम्म पर्थमा सम्पन्न उक्त प्रतियोगितामा तीन खेलाडी, एक प्रशिक्षक र एक टोली व्यवस्थापकसहित पाँच जना सहभागी भएका थिए ।
सम्मानित हुनेमा खेलाडी आर्यन शाही, प्राज्ना महर्जन र सुरम्या शाक्य, प्रशिक्षक राकेश महर्जन तथा टोली व्यवस्थापक अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जन रहेका छन् ।
उनीहरुलाई एनआरएनए वेस्टर्न अष्ट्रेलियाका स्टेट को–ओर्डिनेटर हरिवंश सन्जेल, अध्यक्ष नवीन भण्डारी, नेपाली एसोसिएसन अफ वेस्टर्न अष्ट्रेलियाका पूर्व अध्यक्ष आङ दावा शेर्पा र टेबलटेनिसका पूर्व नेपाल च्याम्पियन अजय सुवालले संयुक्त रूपमा सम्मान गरेका हुन् ।
नेपाली टोली पर्थबाट आगामी अक्टोबर १४ देखि १८ तारिखसम्म हुने टेबलटेनिस प्रशिक्षण शिविरमा सहभागी हुन थाइल्यान्ड प्रस्थान गर्नेछ ।





