
पाँचथर । फिदिम–फालोट सडकखण्डअन्तर्गत फेमे खोलामा अस्थायी डाइभर्सनमार्फत पुनः यातायात सुचारु गर्ने काम तीव्र गतिमा भइरहेको छ । असोज १८ गतेको बाढीले डाइभर्सन बगाएपछि उक्त सडक अवरुद्ध भएको थियो ।
पूर्वाधार विकास कार्यालय पाँचथरले फिदिम नगरपालिका–१ र ११ को सिमानामा पर्ने फेमे खोलामा २० वटा ह्युम पाइप जडान गरी नयाँ डाइभर्सन निर्माण गर्दैछ । कार्यालयका इन्जिनियर मुकेश शाहका अनुसार डाइभर्सन र पहुँचमार्ग निर्माण सोमबारसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सडक अवरुद्ध हुँदा यात्रुहरूले करिब १५ मिनेट पैदल यात्रा गरी खोला पार गर्नुपरेको छ । सामान ढुवानी र बिरामीलाई खोला पार गराउन भने थप समस्या देखिएको छ ।
गत वर्ष असोज १२ गते आएको बाढीले यहाँको सडक पुल बगाएको थियो । त्यसपछि अस्थायी डाइभर्सनमार्फत सवारी आवागमन हुँदै आएकोमा जेठमा निर्माण गरिएको स्थायी डाइभर्सन पनि हालैको बाढीले बगाएको हो । यहाँ बेलिब्रिज जडानको प्रक्रिया सुरु भए पनि बजेट अभावका कारण काम अघि बढ्न सकेको छैन ।





