बागलुङमा एक अर्ब ९४ करोड रुपैयाँको आलु उत्पादन |



बागलुङ । यस वर्ष बागलुङ जिल्लामा एक अर्ब ९४ करोड ६० लाख रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । यहाँका किसानले बर्खे र हिउँदे दुवै याममा आलु खेती गर्दै आएका छन्, जसमा बर्खे आलुको उत्पादन बढी हुने गरेको छ ।

कृषि ज्ञान केन्द्र बागलुङका अनुसार यस वर्ष जिल्लामा २ हजार ८६० हेक्टर क्षेत्रमा आलु खेती गरिएको छ, जसबाट ५५ हजार ६०० मेट्रिकटन उत्पादन भएको छ । अघिल्लो वर्ष भने ३ हजार ७०० हेक्टर क्षेत्रमा खेती गरी ५६ हजार २४० मेट्रिकटन उत्पादन भएको थियो । यस वर्ष खेती क्षेत्र ८४० हेक्टर घटेको छ ।

सूचना अधिकारी सन्तोष अधिकारीका अनुसार किसानले उत्पादन गरेको आलु प्रति किलो ३५ रुपैयाँमा बिक्री गरेका छन् । उनका अनुसार विगतका वर्षहरूमा हिउँदे आलु ४० र बर्खे आलु ५० रुपैयाँमा बिक्री भए पनि यस वर्ष मूल्य घटेको छ ।

बागलुङको तमानखोला, ताराखोला, निसीखोला, काठेखोला गाउँपालिका, ढोरपाटन र गलकोट नगरपालिकालगायतका माथिल्लो क्षेत्र आलु उत्पादनका लागि उपयुक्त मानिन्छन् । “खायन आलु उत्पादनका लागि अनुकूल हावापानी भएकाले किसान उत्साहित छन्,” अधिकारीले बताए ।

उनका अनुसार पछिल्ला तीन वर्षदेखि केन्द्रले आलु खेतीको क्षेत्र विस्तार र उत्पादन वृद्धि गर्ने कार्य अघि बढाएको छ । आर्थिक वर्ष २०८०/८१ मा दुई करोड ६० लाख, २०८१/८२ मा एक करोड ५९ लाख र चालु वर्षमा ५५ लाख ९० हजार रुपैयाँ लगानी गरिएको छ ।

आगामी वर्ष थप ४३ हेक्टर क्षेत्रमा “खायन आलु” खेती विस्तार गर्ने, नयाँ प्रविधि, उन्नत बीउ, मलखाद र सिँचाइ व्यवस्थापनमा ध्यान दिने लक्ष्य रहेको उनले बताए । बागलुङमा उत्पादित आलु बागलुङसँगै बुटवल, चितवनलगायतका सहरमा आपूर्ति हुने गरेको छ ।

यस वर्ष लामो खडेरीका कारण उत्पादनमा केही कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्