
जुम्ला । जुम्लाबाट करिब ४ हजार ७२५ मेट्रिक टन स्याउ बिक्रीका लागि बाहिरी जिल्लामा पठाइएको छ । कृषि विकास कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म सो परिमाणको स्याउ जिल्लाबाट बाहिरिएको हो ।
हाल पनि ग्रामीण भेगका किसान र फुजी जातका स्याउ अन्य जिल्लातर्फ पठाउने काम जारी छ । कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार करिब रु. ३३ करोड ७ लाख बराबरको स्याउ बिक्रीका लागि पठाइएको छ । उनका अनुसार पछिल्ला वर्षहरूमा किसानको स्याउ खेतीप्रतिको आकर्षण बढ्दै गएको छ ।
जुम्लाका आठवटै स्थानीय तहका २४ हजार ८३८ घरधुरीमध्ये ७० प्रतिशतभन्दा बढी परिवार स्याउ खेतीमा संलग्न छन् । तिला गाउँपालिकाका किसानले प्रतिकिलो रु. ७५ भन्दा बढीमा स्याउ बिक्री गर्दै प्रतिऋतु न्यूनतम रु. ४५ हजारदेखि १ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।
कृषि विकास कार्यालयका तथ्याङ्कअनुसार यस वर्ष जुम्लामा करिब १३ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएको छ, जुन विगत दुई वर्षयताकै कम हो । हाल जिल्लामा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचारेड, जनाधन, फुजी र गाला जातका स्याउ खेती हुँदै आएको छ । साथै, नार्कले सिफारिस गरेका नयाँ जातहरूको अध्ययन पनि भइरहेको छ ।





