मखमली फूल खेतीले आत्मनिर्भर बन्दै महिलाहरू



भक्तपुर । सूर्यविनायक नगरपालिका–७ गुण्डु टोल अहिले मखमली र सयपत्री फूलले ढकमक्क फुलेर राता–गुलिया बगैँचा बनेको छ । तिहार नजिकिँदै जाँदा गाउँका आँगनदेखि बारीसम्म फूलको रौनकले गाउँ नै उज्यालो बनेको छ ।

फूल खेतीलाई व्यवसायिक रूपमा अघि बढाएका स्थानीय महिलाहरू बिहान सबेरैदेखि बारीमा मखमली टिप्न व्यस्त छन् । बिहान ६ बजेदेखि फूल टिप्ने, घर फर्किएर माला गाँस्ने र त्यसपछि व्यापारीलाई बिक्री गर्नेक्रम चलिरहेको छ । तिहार नजिकिँदै जाँदा मखमली र सयपत्री माला बनाउन भ्याइनभ्याई भएको छ ।

राष्ट्रिय कृषक समूह महासङ्घकी केन्द्रीय उपाध्यक्ष अनिता बस्नेतका अनुसार गुण्डुमा करिब ७०० रोपनीमा मखमली र ३०० रोपनीमा सयपत्री फूल खेती गरिएको छ । उनले भनिन्, “किसानलाई फूल टिप्न र माला गाँस्न अहिले एकछिन पनि फुर्सद छैन ।”

तर, बस्नेतका अनुसार किसानले भन्दा बिचौलियाले बढी नाफा कमाउने गरेका छन् । “किसानले एउटा माला रु २१ देखि २३ मा बेच्नुपर्छ तर बजारमा त्यो नै माला रु ६० भन्दा बढीमा बिक्री हुन्छ,” उनले भनिन्, “मालाको मूल्यमा एकरूपता ल्याउन राज्यले लम्बाइ र गुणस्तरका आधारमा मूल्य निर्धारण गर्नुपर्छ।”

उनका अनुसार फूलखेतीबाट यहाँका महिलाहरू आत्मनिर्भर बन्दै गएका छन् । घरखर्च धान्नदेखि बचत गर्नसम्म उनीहरू सक्षम भएका छन् ।

स्थानीय उर्मिला नगरकोटीले पनि आफ्ना बुबाबाट सुरु भएको ४० वर्ष पुरानो फूलखेती परम्परालाई निरन्तरता दिइरहेकी छन् । उनका अनुसार, “मखमली खेती केही कठिन छ, तर आम्दानी राम्रै हुन्छ । पहिले एक रोपनीमा चार हजार माला बन्थ्यो, अहिले उत्पादन घटेर तीन हजार माला मात्रै बन्छ, तर एक रोपनीबाट झन्डै ७० हजार रुपैयाँसम्म आम्दानी हुन्छ।”

उनले थपिन्, “फूलखेतीले धानभन्दा दसगुणा बढी आम्दानी दिन्छ, त्यसैले धेरै किसान यसतर्फ आकर्षित भएका छन् ।”

७० वर्षीया सानुमैया नगरकोटी पनि अहिले मखमली माला उन्दै व्यस्त छिन् । उनले भनिन्, “घरका सबै जना माला गाँस्न व्यस्त छौं, मखमली खेतीले हामीलाई खुसी बनाएको छ ।” परिवारका सबै सदस्यले माला गाँस्न सहयोग गर्छन्, अनि माग धेरै हुँदा एक माला गाँसेको चार रुपैयाँ ज्यालामा अरूलाई पनि काम दिइन्छ । व्यापारीहरू घरघरमै माला किन्न आउने भएकाले बजार धाउन नपर्ने उनी बताउँछिन् ।

सूर्यविनायक–७ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाका अनुसार नगरपालिकाले ५५० परिवारलाई करिब ७५ हजार फूलका बिरुवा अनुदानमा वितरण गरेको छ । किसानलाई तालिम र प्राविधिक सहयोग पनि दिइएको छ ।

उनका अनुसार गुण्डुमा उत्पादित मखमली र सयपत्री फूल न केवल देशभर, तर विदेशमा समेत निर्यात हुने गर्छन् । फूलखेतीले यहाँका महिलालाई आर्थिक रूपमा सबल बनाउँदै गाउँको समृद्धिको प्रतीक बनेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्