
काठमाडौं, असोज २६ ।
अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ऐतिहासिक सफलता प्राप्त गरेकी एरिका गुरुङलाई नेपाल प्रहरी श्रीमती संघले नगदसहित सम्मान गरेको छ ।
गत असोज १७ देखि १९ सम्म मलेसियामा सम्पन्न डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा नेपालका लागि पहिलोपटक स्वर्ण पदक जितेकी एरिकालाई संघले आइतबार भृकुटीमण्डपस्थित कार्यालयमा आयोजित कार्यक्रममा २५ हजार पाँच सय ५५ रुपैयाँसहित सम्मानपत्र र दोसल्लाले सम्मान गर्यो ।
संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङले एरिकालाई सम्मान प्रदान गरेकी थिइन् । सोही कार्यक्रममा राष्ट्रिय कराते टोलीका प्रशिक्षक तथा १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
नेपाल पुलिस क्लबकी खेलाडी एरिकाले ६८ केजीमाथिको कुमिते विधामा स्वर्ण जितेकी हुन् । उनले ट्युनिसियाकी मसाक्नी टेस्निम, चेक रिपब्लिककी हाकोभा अमाली र पोल्यान्डकी डेनिस्जेवस्का जुलियालाई पराजित गर्दै उपाधि जितेकी थिइन् । सेमिफाइनलमा हाकोभालाई ७–० ले हराउँदै फाइनलमा मसाक्नीलाई २–० ले पराजित गर्दै एरिकाले स्वर्ण जितेकी थिइन् ।
एरिका कराते वान सिरिज ‘ए’ मा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।





