
काठमाडौं, असोज २६ ।
पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा चावहिल स्पोर्ट्स क्लबका ‘ए’ र ‘बी’ दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन् ।

चावहिल ‘ए’ ले कपन भेट्रानलाई टाइब्रेकरमा २–१ ले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गर्यो । विजेता टोलीका ‘म्यान अफ द म्याच’ राजेश शाही र दीपक लामाले गोल गरे भने कपनका ओमले एक गोल फर्काए । सोही दिन भएको अर्को खेलमा चावहिल ‘ए’ ले सिन्धु स्पोर्ट्सलाई १–० ले हरायो, जसमा निर्णायक गोल ‘म्यान अफ द म्याच’ सगुन श्रेष्ठले गरे ।
त्यस्तै, चावहिल ‘बी’ ले डिफेन्डिङ च्याम्पियन बौद्ध भेट्रानलाई २–१ गोलले पाखा लगायो । विजेतातर्फ टीकाराम कार्की र विक्रम कार्कीले गोल गरे भने बौद्धका उमेश लामाले एक गोल फर्काए ।
काठमाडौं महानगरपालिका वडा नं. ७ को आयोजनामा जारी प्रतियोगितामा फ्रिडम फाइटर ‘बी’ पनि क्वाटरफाइनलमा पुगेको छ । चावहिलमै भइरहेको खेलमा फ्रिडम ‘बी’ ले एजे भेट्रानलाई २–१ ले पन्छायो । विजयी टोलीका ‘म्यान अफ द म्याच’ कन्या गुरुङ र राजु तामाङले गोल गरे भने एजेका राजन उप्रेतीले सान्त्वना गोल फर्काए ।
अब क्वाटरफाइनल समीकरण तय भएको छ । सोमबार हुने खेलअनुसार चावहिल ‘ए’ ले बुटवलसँग भिड्नेछ भने चावहिल ‘बी’ ले कैलालीसँग प्रतिस्पर्धा गर्नेछ । अन्य दुई क्वाटरफाइनल बानेश्वर फ्रेन्डसिप र चितवन भेट्रान, तथा फ्रिडम ‘बी’ र हेटौंडाबीच हुनेछ ।





