
नेपालगन्ज ।
कमनवेल्थ गेम्स–२०१० का स्वर्णपदकधारी तथा विश्वप्रसिद्ध केन्याली धावक जोन केलाई नेपालगन्ज आइपुगेका छन् । उनी धारा नेपालगन्ज म्याराथनको निमन्त्रणामा नेपालगन्ज आएका हुन् ।
नेपालगन्ज विमानस्थलमा म्याराथनका संस्थापक टीएस ठकुरी, रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङ, र संस्थापक सदस्य भिम ओलीले लिजेन्ड धावक केलाईलाई स्वागत गरेका थिए ।
रेस डाइरेक्टर गुरुङका अनुसार धावक केलाई गौघाट ग्रीन रनमा अतिथि धावकका रूपमा सहभागी हुँदै विद्यार्थी धावकहरूलाई हौसला बढाउनेछन् । उनले स्थानीय स्कुले विद्यार्थीहरू सँगसँगै दौडने कार्यक्रम रहेको जनाइएको छ ।

जोन केलाई सन् २००३ देखि २०१० सम्म विश्वका प्रतिष्ठित म्याराथनहरू—मुम्बई म्याराथन (भारत), इन्सेद म्याराथन (नेदरल्याण्ड्स), टोरन्टो वाटरफ्रन्ट म्याराथन (क्यानडा), सिंगापुर म्याराथन, र ब्रसेल्स म्याराथन (बेल्जियम) का विजेता रहिसकेका छन् । उनी म्याराथन खेलका विज्ञ मानिन्छन् ।
पर्यावरणीय सन्देशका साथ सुरु गरिएको गौघाट ग्रीन रन गत वर्षदेखि खजुरा गाउँपालिकाको सितापुरमा आयोजना हुँदै आएको छ । प्लास्टिक रहित हरित गाउँ निर्माण र बालबालिकामा वातावरणीय सचेतना फैलाउने यस दौड यस वर्ष असोज २८ गते, मंगलवार बिहान ७ बजे हुनेछ ।
खजुरा पालिकाका विद्यालयका विद्यार्थी र खुला समूहका धावक गरी चार विधामा प्रतिस्पर्धा हुनेछ । गत वर्ष ४२ जना सहभागी भएका ग्रीन रनमा यसपटक एक सयभन्दा बढी धावक सहभागी हुने अनुमान गरिएको छ ।
यस पटकको रनमा मिस नेपाल वर्ल्ड २०२३ श्रृच्छा प्रधान पनि सहभागी हुने भएकी छन् । उनको अध्ययन र रुचि वातावरणीय विषयसँग सम्बन्धित भएकाले उनलाई ग्रीन रनको एम्स दूत बनाइएको टीएस ठकुरीले जानकारी दिए ।
धावक जोन र मिस नेपाल श्रृच्छासँग सोमबार जनप्रतिनिधि, पत्रकार र नागरिक अगुवाहरूको भेट कार्यक्रम समेत तय गरिएको छ ।
धारा नेपालगन्ज म्याराथनको ११औं संस्करण यसै वर्ष मंसिर ६ गते (शनिवार) आयोजना हुँदैछ । दर्ता प्रक्रिया सुरु भइसकेको छ । यसपटक उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र सहायक भूमिकामा रहेका व्यक्तित्वलाई अन्तर्राष्ट्रिय एक्सपोजर अवसर प्रदान गर्ने तयारी भइरहेको छ ।
यसका लागि म्याराथन आयोजक पक्षले थाइल्याण्डको वल्र्ड क्लास बाङ्सेन रनिङ सिरिजसँग औपचारिक सम्झौता गरिसकेको र अन्य अन्तर्राष्ट्रिय म्याराथनसँग पनि सहकार्यका पहल भइरहेको एम्स दूत ठकुरीले जानकारी दिएका छन् ।





