
म्याग्दी । बेनी नगरपालिका–९ तोरीपानीमा घरबास (होमस्टे) सेवा सञ्चालनमा आएको छ । पर्यटकलाई सहज बसोबास, स्थानीयको आयआर्जन सुधार, रोजगारी सृजना र पर्यटन प्रवर्द्धनका उद्देश्यले सुरु गरिएको घरबास पहिलो चरणमा पाँचवटा घरबाट प्रारम्भ भएको हो ।
तोरीपानी घरबास समूहकी अध्यक्ष सीता खत्रीका अनुसार सुरुमा २१ जना पाहुना बस्न सक्ने क्षमता बनाइएको छ । “कोठा र शौचालयसहितका पूर्वाधार तयार भएका छन्,” उनले बताइन्, “इको हिमालय संस्थाले करिब रु छ लाख बराबरका बेड, विस्तारा र सरसफाइ सामग्री सहयोग गरेको छ ।”
जुना खत्री, रश्मी चोखाल, सुजना चोखाल, युव गिरी र जमुना क्षेष्ठको घरमा घरबास सञ्चालन भएको हो । संस्था दर्ता भइसकेको छ भने दोस्रो चरणमा थप घरमा सेवा विस्तार गर्ने तयारी भइरहेको छ ।
समुद्री सतहबाट १,७५० मिटर उचाइमा अवस्थित तोरीपानीबाट धवलागिरि र अन्नपूर्ण हिमालको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । मसलेदार फल टिमुरखेतीका लागि प्रसिद्ध यो क्षेत्र टोड्के, ढोलथान दरबार र पछै जस्ता पर्यटकीय तथा धार्मिक स्थलका कारण पनि आकर्षक गन्तव्य मानिन्छ ।
बेनी–नेप्टेचौर हुँदै तोरीपानी जोड्ने सडक गण्डकी प्रदेश सरकारमार्फत कालोपत्रे र स्तरोन्नतिको क्रममा छ । त्यस्तै, तोरीपानी हुँदै ऐतिहासिक ढोलथान दरबार जोड्ने सडक सङ्घीय सरकार र नगरपालिकाको सहकार्यमा स्तरोन्नतिमा छ ।
बेनीमा पारिवारिक वातावरणमा घुम्न चाहने पाहुनाका लागि तोरीपानी उपयुक्त विकल्प बन्न सक्ने वडाध्यक्ष चक्र केसीले बताए । उनका अनुसार, घरबास सञ्चालनले पर्यटन प्रवर्द्धनसँगै रोजगारी र स्थानीय आम्दानी बढाउने अपेक्षा गरिएको छ ।





