बीमा दाबी २३ अर्ब २२ करोड, भुक्तानी १ अर्ब ५८ करोड |



काठमाडौँ । गत भदौ २३ र २४ गतेका आन्दोलनका कारण भएको क्षतिको बीमा दाबीको रकम हालसम्म रु २३ अर्ब २२ करोड ७८ लाख पुगेको छ । नेपाल बीमा प्राधिकरणका पछिल्ला विवरणअनुसार निर्जीवन बीमा कम्पनीहरूले अहिलेसम्म रु १ अर्ब ५८ करोड ५६ लाख बराबरको बीमा भुक्तानी गरिसकेका छन् ।

प्राधिकरणले बीमितलाई सहज र शीघ्र राहत उपलब्ध गराउन सक्रियता देखाएपछि अग्रिम रूपमा भुक्तानी दिने प्रक्रिया तीव्र गतिमा अघि बढाइएको बताइएको छ । हालसम्म तीन हजार ९९ वटा बीमा दाबीका आवेदन परेको प्राधिकरणले जनाएको छ । तीमध्ये सम्पत्ति बीमा ६५३, मोटर बीमा दुई हजार २०६, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा १९०, परिवहन बीमा १२ र अन्य बीमा ३८ रहेका छन् ।

प्रदेशगत विवरण अनुसार कोशीमा ३९६, मधेसमा ३५५, वाग्मतीमा एक हजार ६६९, गण्डकीमा २१२, लुम्बिनीमा २४६, कर्णालीमा २२ र सुदूरपश्चिममा १९९ बीमा दाबीका आवेदन दर्ता भएका छन् । यो विवरण असोज २३ गतेसम्मको हो ।

बीमा दाबीमा सिद्धार्थ इन्स्योरेन्स कम्पनी सर्वाधिक प्रभावित भएको छ । सो कम्पनीमा रु पाँच अर्ब ६१ करोड ४४ लाख बराबरको बीमा दाबी दर्ता भएको छ र रु ५९ करोड ४४ लाख बराबरको भुक्तानी गरिएको छ । दी ओरियण्टल इन्स्योरेन्समा रु पाँच अर्ब २४ करोड ४७ लाख बराबरको दाबी दर्ता भएको छ, तर हालसम्म रु पाँच लाख ७० हजार मात्रै भुक्तानी गरिएको छ ।

त्यस्तै, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा रु दुई अर्ब ७५ करोड ९७ लाख बराबरको दाबी परेको छ, जसअन्तर्गत रु ३० करोड ४३ लाख वितरण गरिएको छ । शिखर इन्स्योरेन्समा रु दुई अर्ब ४० करोड ८६ लाख बराबरको दाबी दर्ता भएको र रु ३१ करोड ९४ लाख बराबरको रकम भुक्तानी गरिएको छ ।

हाल देशभर १८ वटा निर्जीवन बीमा कम्पनी (माइक्रो इन्स्योरेन्ससहित) सञ्चालनमा छन् । आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडमा परेका निजी सम्पत्तिको बीमा भए पनि सरकारी तथा सार्वजनिक संरचनाको बीमा नदेखिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्