गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव, दुई महिनादेखि वितरण ठप्प |



गोरखा । पालुङटार नगरपालिकाका गर्भवती महिलाहरू पछिल्ला दुई महिनादेखि क्याल्सियम र आइरन चक्की नपाएर समस्या भोगिरहेका छन् । नगरपालिकाले समयमै औषधि खरिद नगरेपछि गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने यी पोषक चक्की खान नपाएको स्थानीय स्वास्थ्यचौकीहरूले जनाएका छन् ।

वडा नं ५ ठाँटीपोखरी स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी रमा थापामगरका अनुसार, “दुई महिनादेखि क्याल्सियम र आइरन चक्की वितरण ठप्प छ । अहिले आउने गर्भवतीलाई बजारबाट किनेर खान सुझाव दिनुपर्ने अवस्था आएको छ ।”

नगरपालिकाका दशवटै वडाका स्वास्थ्य संस्थामा पनि औषधि अभाव छ । वडा नं १० की स्वास्थ्यचौकी प्रमुख अनिशा जोशी भन्छिन्, “डेढ महिनादेखि नै आइरन र क्याल्सियम चक्की छैन । हामीले गर्भवतीलाई आफैं किनेर खानुस् भनेर पठाइरहेका छौँ । सित्तैमा पाइने औषधि पैसा तिरेर किन्नुपर्ने भन्दै गर्भवतीहरूले गुनासो गर्दै आएका छन् ।”

जोशीका अनुसार केही गर्भवतीले स्वास्थ्यचौकीलाई नै औषधि किनेर उपलब्ध गराउन दबाब दिइरहेका छन् । “कतिपय औषधि पसलमा पनि धेरै मात्रामा आइरन चक्की बिक्रीमा रोक लगाएका छन् । त्यसैले गर्भवती महिलाहरू रिसाएर स्वास्थ्यचौकीमै माग गर्दै आउँछन्,” उनले बताइन् । मिरकोट स्वास्थ्यचौकीमा मात्रै करिब २५ गर्भवती नियमित रूपमा यी चक्की सेवन गर्दै आएका थिए ।

त्यस्तै, वडा नं ९ स्थित सेरा स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी गङ्गादत्त सेढाईँले पनि दुई महिनादेखि आइरन र क्याल्सियम चक्की अभाव रहेको बताए ।

प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माका अनुसार, आइरन र क्याल्सियम चक्की खरिद गर्ने जिम्मेवारी स्थानीय तहकै हो । “सरकारले निःशुल्क वितरण गर्ने ९८ प्रकारका औषधिमध्ये केही सङ्घ, केही प्रदेश र केही स्थानीय तहले खरिद गर्ने व्यवस्था छ,” उनले स्पष्ट पारे, “आइरन र क्याल्सियम चक्की स्थानीय तहले नै व्यवस्थापन गर्नुपर्ने प्रावधान अन्तर्गत पर्छ ।”

उनका अनुसार, विगतमा यी औषधि सङ्घीय सरकारले नै पठाउने गर्थ्यो, तर तीन/चार महिनाअघिदेखि सङ्घले पठाउन नसक्ने र स्थानीय तहले आफैं व्यवस्थापन गर्नुपर्ने सूचना जारी गरेको हो । शर्मा भन्छन्, “प्रदेश जनस्वास्थ्य कार्यालयले अब प्रदेश आपूर्ति केन्द्रबाट आउने औषधि मात्र वितरण गर्ने काम गर्छ, स्थानीय तहले भने आफ्ना जिम्मेवारीका औषधि स्वयम् खरिद गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्