सानोदुम्माका ९० प्रतिशत घरमा बत्ती बल्यो |



भोजपुर । पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका करिब ९० प्रतिशत नागरिक अहिले केन्द्रीय विद्युत्को पहुँचमा पुगेका छन् । भौगोलिक रूपमा विकट मानिने यस वडामा स्थानीय तहको निरन्तर पहलपछि घरघरमा बत्ती बल्न थालेको हो ।

वडाध्यक्ष बोमप्रसाद राईका अनुसार विद्युत् विस्तार अभियान शून्य अवस्थाबाट सुरु गरिएको थियो, जुन अहिले अन्तिम चरणमा पुगेको छ । उनले भने, “दुई बस्तीका ११ घरमा मात्रै बत्ती पुग्न बाँकी छ । ती घरमा पनि चाँडै जडान गर्ने तयारी भइरहेको छ ।”

उनका अनुसार केही दुर्गम बस्तीमा पोल र तार अभावका कारण विस्तारमा ढिलाइ भएको हो । बाँकी घरमा पनि चाँडै विद्युत् जडान गरी वडालाई ‘पूर्ण उज्यालो वडा’ घोषणा गर्ने लक्ष्य राखिएको छ ।

विद्युत् पुगेसँगै वर्षौँदेखि टुकी र सोलारमा निर्भर रहेका स्थानीयले अब सहजता अनुभव गरेका छन् । स्थानीय हर्कराज राई भन्छन्, “अब अँध्यारो हटेको छ, गाउँमै टेलिभिजन र इन्टरनेट चलाउन सकेका छौँ ।” उनका अनुसार सूचना तथा सञ्चारको पहुँच बढेसँगै गाउँलेले देश–विदेशका खबर र जानकारी सजिलै प्राप्त गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्