
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अधिकांश नेताहरूले चाँडोभन्दा चाँडो केन्द्रीय कमिटी बैठक आह्वान गर्न नेतृत्वसमक्ष माग गरेका छन् । आगामी निर्वाचनलाई दृष्टिगत गर्दै समान विचारधारा भएका दलबीच सहकार्य र वाम–समाजवादी एकताबारे विस्तृत आन्तरिक छलफल आवश्यक रहेको भन्दै उनीहरूले बैठक बोलाउन जोड दिएका हुन् ।
पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपाध्यक्ष प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल, सचिवहरू बलदेव चौधरी, गरिमा शाह, जीवनराम श्रेष्ठ, विजय पौडेल, रामकुमारी झाँक्री, अशेष घिमिरे, दामोदर अर्याललगायतका अधिकांश कार्यसमिति सदस्यहरूले केन्द्रीय बैठकमार्फत पार्टीको रणनीति र निर्णयहरू टुंग्याउनुपर्ने सुझाव दिएका छन् ।
केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले पार्टी एकताअघि राजनीतिक दृष्टिकोण, सैद्धान्तिक आधार, नयाँ पुस्ताको आकाङ्क्षा, दीर्घकालीन नेतृत्व संरचना तथा कार्यक्रमबारे गहिरो विश्लेषण गर्न आवश्यक रहेको बताए । उनका अनुसार फरक पृष्ठभूमिका दलहरूसँग एकता गर्दा नीति, नेतृत्व, सक्षमता र योग्यताका आधारमा व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा विस्तृत अध्ययन गर्नुपर्ने छ । उनले पार्टीका मातहतका कमिटी र जनवर्गीय संगठनहरूको सुझावलाई प्राथमिकतामा राख्दै बैठकको मिति र स्थान चाँडै निर्धारण गर्नुपर्ने धारणा राखे ।
नेकपा (एमाले) सहित बृहत् वाम एकता वा समाजवादी मोर्चा अन्तर्गतका दलहरूबीच एकता गर्ने विषयमा नेताहरूबीच मतभेद रहेका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिने निर्णय गरिसकेको एकीकृत समाजवादीले विद्यमान संविधान र लोकतान्त्रिक प्रणालीको संरक्षणका लागि निष्पक्ष र भयरहित वातावरण सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ । गत भदौ अन्त्यतिर बोलाइएको केन्द्रीय कमिटी बैठक ‘जेनजी आन्दोलन’का कारण स्थगित भएको थियो ।





