नेपाली नोटमा ‘नेपाल संवत्’ उल्लेख गर्न सकिने : प्रधानमन्त्री कार्की |



भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल राष्ट्र बैंकबाट जारी हुने नेपाली नोटमा ‘नेपाल संवत्’ उल्लेख गर्न सकिने सम्भावना रहेको बताएकी छन् ।

नेपाल संवत् ११४६ को अवसरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठान, मध्यपुरथिमि, भक्तपुरको प्रतिनिधिमण्डलसँग भेटवार्ताका क्रममा प्रधानमन्त्री कार्कीले यस्तो धारणा राखेकी हुन् । प्रतिष्ठानले उनलाई मध्यपुरथिमिस्थित शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पणका लागि प्रमुख अतिथिको रूपमा निमन्त्रणा गर्ने क्रममा उक्त विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री कार्कीले अर्थमन्त्रीमार्फत नेपाल राष्ट्र बैंकका गभर्नरसँग परामर्श गरी आगामी नोट छपाइमा ‘नेपाल संवत्’ समावेश गर्ने सम्भावनाबारे छलफल अघि बढाइने बताइन् । प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठका अनुसार रु पाँच सयको नोट छपाइका प्रक्रिया पूरा भइसकेकाले अब बाँकी नोटहरूमा ‘नेपाल संवत्’ समावेश गर्ने विषयमा निर्णय हुन सक्ने प्रधानमन्त्रीको भनाइ थियो ।

नेपाल संवत् नेपालको मौलिक संवत् भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले यसलाई राष्ट्रिय पहिचानको रूपमा संरक्षण र प्रवर्द्धन गर्न आवश्यक ध्यान दिने प्रतिबद्धता व्यक्त गरिन् । साथै, उनले नेपाल संवत्को नयाँ वर्षका अवसरमा शङ्खधर साख्वाःको सालिकमा आयोजित माल्यार्पण कार्यक्रममा सहभागी हुने जानकारी पनि दिइन् ।

प्रतिक्रिया दिनुहोस्