बाढीपहिरो प्रभावित क्षेत्रको पुनःस्थापनालाई प्राथमिकतामा राख्ने सरकारको प्रतिबद्धता : मन्त्री घिसिङ |



इलाम । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बाढीपहिरो प्रभावित क्षेत्रहरूको पुनःस्थापनालाई सरकारको तत्कालीन प्राथमिकतामा राखेर काम अघि बढाइने स्पष्ट पारेका छन् ।

शनिबार जिल्ला प्रशासन कार्यालय इलाममा जिल्ला विपद् व्यवस्थापन समितिद्वारा आयोजित अन्तरक्रियामा उनले इलामलाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरिएकाले पुनःस्थापनाको कार्य अब पहिलो प्राथमिकतामा रहने बताएका हुन् ।

उनका अनुसार राहत तथा पुनर्निर्माणका काममा सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य अपरिहार्य छ । मन्त्री घिसिङले भने, “यो विपद् हाम्रो नियन्त्रणबाहिरको घटना हो, इलामले यसपटक अकल्पनीय क्षति व्यहोर्नुपरेको छ । अब तीनै तहका सरकारबीचको सहकार्यबाट राहत र पुनःस्थापनाको काम तीव्र बनाउन आवश्यक छ, र त्यो पहल सुरु भइसकेको छ ।”

मन्त्री घिसिङले शनिबार नै इलामका विभिन्न बाढीपहिरो प्रभावित क्षेत्रहरूको स्थलगत निरीक्षण पनि गरे । उनले इलाम नगरपालिका–१० माईटापु, मेची राजमार्गको राजदुवाली सडक खण्ड, र सदरमुकामदेखि मिलगोलाइसम्मका सडक क्षेत्र निरीक्षण गर्दै क्षतिग्रस्त पक्की पुल, बेलिब्रिज र झोलुङ्गे पुलहरूको पुनर्निर्माण छिट्टै अघि बढाइने जानकारी दिए ।

हालैको बाढीपहिरोबाट इलाममा १९ वटा पक्की पुल, दुईवटा बेलिब्रिज र तीनवटा झोलुङ्गे पुल क्षतिग्रस्त भएका छन् । सो विपद्‌मा ३९ जनाको ज्यान गएको छ, २६ जना घाइते भएका छन् र एक जना अझै बेपत्ता छन् ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार ती घटनाबाट २७६ परिवार विस्थापित भएका छन्, १५१ घर पूर्णरूपमा र ३२७ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्