लेकाली ‘बुकी’बाट बेँसीतर्फ झर्न थाले म्याग्दीका गोठ |



म्याग्दी । शरद ऋतु सुरुसँगै म्याग्दीका लेकाली पशुगोठहरू ‘बुकी’बाट बेँसीतर्फ झर्न थालेका छन् । बर्खायाममा हिमालको फेदीमा पुगेर चरिएका गाईभैँसी, गोरु र भेँडाबाख्राका गोठ चिसो बढेपछि गाउँनजिकका खर्कमा झार्न थालिएको हो ।

धौलागिरि गाउँपालिका–३ मल्कवाङका देवान छन्त्यालका अनुसार धौलागिरि हिमालको फेदीमा करिब तीन महिना गोठ बसेर गाईभैँसीलाई पोषिलो ‘बुकी’को घाँस खुवाएपछि अहिले बेँसीतर्फ झर्ने तयारी गरिएको छ । “अहिले मकै भित्र्याएको बारीमा गोठ राखेका छौँ, धान र कोदो भित्र्याएपछि मङ्सिरमा बेँसीको फाँटमा झार्ने चलन छ,” उनले बताए ।

गोठालाहरू बथानसहित बन्दोबस्तीका सामान बोकेर बेँसी झर्दै गर्दा गाउँमा गाईवस्तु र गोठालाको चहलपहल बढेको छ । धौलागिरि–३ मुनाका लीलबहादुर पुनका अनुसार हिमाली क्षेत्रको पोषिलो घाँस खाएका पशु स्वस्थ, बलिया र दूधालु हुने गर्छन् ।

बेँसी झरेसँगै गाउँनजिकका पाखाबारी गाईगोरु, बाच्छाबाच्छी, भैँसी र भेँडाबाख्राले भरिएका छन् । महिनौँसम्म पहाडमा बसेका गोठाला अब परिवारसँग भेटघाटमा रमाइरहेका छन् ।

लेकाली खर्कमा ढुङ्गाको पर्खाल, निगाला, काठ र त्रिपाल प्रयोग गरी अस्थायी गोठ बनाइन्छ । ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण र धौलागिरि हिमाल आसपासका क्षेत्रमा यस्तो मौसमी गोठ लैजाने परम्परा अझै चलिआएको छ ।

धवलागिरिको गुर्जा, लुलाङ, लमसुङ, मुना, मुदी, खिवाङ, फलियागाउँ, मल्कवाङ, रघुगङ्गाको कुइनेखानी, पात्लेखर्क, मङ्गलेखानी, चिमखोला, दग्नाम, ठाडाखानी, अन्नपूर्णको दोवा, दाना, नारच्याङ, पाउद्वार, शिख, राम्चा लगायतका गाउँमा किसानले घुम्ती गोठमा परम्परागत पशुपालन गर्दै आएका छन् ।

बेंँसीका खेतबारीमा गोठ राख्दा जमिन मलिलो बन्ने चलन पनि कायम छ । तर, युवा पुस्ताको बेवास्ता र वैदेशिक रोजगारीका कारण यो परम्परागत घुम्ती गोठ प्रणाली संकटमा परेको रघुगङ्गा–२ भगवतीका नन्दबहादुर भण्डारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्