जमिन भासिएपछि सुरक्षित बासको खोजीमा हायु समुदाय



कमलामाई । कमलामाई नगरपालिका–१ सिम्लेमा जमिन भासिँदा हायु समुदायको बस्ती गम्भीर जोखिममा परेको छ। बस्ती नै चिरा परेर फाटेका ठाउँमा बस्दै आएका स्थानीय यतिबेला सुरक्षित आश्रयस्थलको खोजीमा छन्।

शुक्रबार जिल्ला सुरक्षा समितिको टोली स्थलगत निरीक्षणका लागि सिम्ले पुगे पनि प्रभावित हायु परिवारको अनुहारमा उत्साह झल्किएन। उनीहरूले सहयोगको याचना गरे पनि अघिल्ला अनुभवका कारण तत्काल राहत वा दीर्घकालीन समाधानको आशा गर्न सकेका छैनन्।

स्थानीय पूर्णिमाया हायुले भनिन्, “जमिन फाटेर घर ढल्किएका छन्, कहिले बगाउँछ भनेर डर लाग्छ। पानी पर्नासाथ मुटु काम्न थाल्छ। सरकारका मान्छे हेर्न आउँछन्, तर सहयोग भने कहिल्यै पाइँदैन।”

पूर्णिमायाजस्तै १५ घरका अन्य हायु परिवार पनि यस्तै भय र निराशामा छन्। गत वर्ष लगातार परेको वर्षापछि जमिन भासिँदै जाँदा उनीहरूको बस्ती जोखिममा परेको थियो। समयसँगै समस्या झन् बढ्दै गएको छ।

स्थानीय फूलकुमारी हायुले गुनासो गर्दै भनिन्, “घरको आधा भाग सरेको छ, खेत पनि तल झर्दैछ। यहाँबाहेक अर्को जग्गा छैन, कहाँ जाने?”

वडा नं. १ का अध्यक्ष नरेश गोलेका अनुसार सिम्लेको हायु बस्ती एक वर्षदेखि उच्च जोखिममा छ। सुरक्षित स्थलको अभावमा २०० भन्दा बढी व्यक्ति अहिले पनि त्यहीँ बस्न बाध्य छन्। असोज १७ देखि २१ सम्म परेको अविरल वर्षाले जमिन थप भासिँदा बस्तीका घरहरू झन् अस्थिर बनेका छन्।

गोलेले भने, “जोखिममा रहेका सबै घरको सूची बनाएर अघिल्लो वर्ष नै नगरपालिका र जिल्ला प्रशासनमा पठाइएको हो। तर स्थलगत निरीक्षणबाहेक कुनै ठोस कदम उठिएको छैन। अब बस्ती स्थानान्तरण गर्नुको विकल्प छैन।”

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले निरीक्षणपछि समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने प्रतिबद्धता जनाए। “बस्ती जोखिममा छ, हायु परिवार त्रासमा छन्। तत्काल विपद् व्यवस्थापन समितिको बैठक बसेर निर्णय लिनेछौं,” उनले भने।

नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले पनि नगरपालिकाले दीर्घकालीन समाधानका लागि आवश्यक पहल र समन्वय अघि बढाइरहेको बताए।

प्रकृतिपूजक हायु समुदाय अहिले अस्तित्वकै संकटमा छ। वर्षौदेखि बसोबास गरिएको थातथलो भासिँदै जाँदा उनीहरू सुरक्षित पुनर्वासको प्रतीक्षामा छन्। स्थानीयले माग गरेका छन्— “यो लोपोन्मुख जातिको अस्तित्व जोगाउन सरकार तुरुन्तै दीर्घकालीन पुनर्वास योजना कार्यान्वयनमा ल्याओस्।”

प्रतिक्रिया दिनुहोस्