कांग्रेसमा ‘जेनजी’ पुस्ताको आवाज : युवाहरूले मागे पार्टीभित्र ठोस प्रतिनिधित्व |



पाटन (ललितपुर) । नेपाली कांग्रेसका युवाहरूले पार्टीमा ‘जेनजी’ पुस्ताको ठोस प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका छन् । उनीहरूले पार्टीलाई युवामैत्री, गतिशील र जिम्मेवार संस्थाको रूपमा रूपान्तरण गर्न नेतृत्वसँग ठोस कदम चाल्न आग्रह गरेका हुन् ।

शनिबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी तथा कार्यसम्पादन समितिका पदाधिकारीहरूलाई बुझाइएको ध्यानाकर्षण पत्रमार्फत युवाहरूले पार्टीभित्र विद्यमान अन्योल अन्त्य गर्दै नयाँ पुस्तालाई अवसर दिनुपर्ने जोड दिएका छन् ।

नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य आकाश उप्रेतीले भने, “पार्टी अहिले जटिल अवस्थाबाट गुज्रिरहेको छ । हरेक तहका समितिहरू अधिवेशनको संघारमा छन्, तर महाधिवेशन हुने नहुने अनिश्चित छ । यस्तो परिस्थितिमा प्रगतिशील सोचका जेनजी पुस्तालाई अघि नल्याए कांग्रेसले आफ्नो भविष्य जोखिममा पार्नेछ ।”

युवाहरूले पार्टी विधानमा संशोधन गरी सबै तहका निर्वाचनमा कम्तीमा ४० प्रतिशत युवालाई उम्मेदवारका रूपमा अघि सार्नुपर्ने माग गरेका छन् । साथै, समितिहरूमा रहेका प्रतिबन्धात्मक प्रावधान हटाउन र मनोनित पदहरूमा समेत ४० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्नुपर्ने प्रस्ताव पनि राखेका छन् ।

ध्यानाकर्षण पत्र ग्रहण गर्दै पार्टी उपसभापति धनराज गुरुङले युवाहरूका मागहरू सकारात्मक रहेको उल्लेख गर्दै यसबारे पार्टीभित्र गम्भीर छलफल हुने बताए । “युवाहरूलाई निरुत्साहित गर्नु हुँदैन । उनीहरूको माग जायज छन्, नेतृत्व त्यसलाई सम्बोधन गर्न तयार छ,” उनले भने ।

त्यसैगरी, पार्टीका सूचना तथा सञ्चार विभाग प्रमुख मीन विश्वकर्माले पनि युवाहरूले उठाएका मागहरू र सुझावहरू पार्टीको पुनर्जागरणका लागि उपयोगी हुने बताउँदै आवश्यक पहल गर्ने आश्वासन दिए । पार्टी केन्द्रीय सदस्य तथा पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले भने, “कांग्रेसको सबलता र एकताको मूल आधार युवा पुस्ताको सक्रियता हो । जनतामाझ जान युवाको प्रतिनिधित्व अपरिहार्य छ,” भन्दै युवाप्रति समर्थन जनाए ।

प्रतिक्रिया दिनुहोस्