
काठमाडौँ, असोज २५ गते । केभिआर समिट च्यालेन्जको तेस्रो संस्करणअन्तर्गत पहिलो चरणको रेसमा पुरुषतर्फ डेनमार्कका डेनियल मोयलर र महिलातर्फ नेदरल्यान्ड्सकी एनी माइ बानले विजेता उपाधि हात पारेका छन् ।

शनिबार ट्रेलमान्डु नेपालले आयोजना गरेको २१ किलोमिटर दूरीको प्रतिस्पर्धात्मक दौडमा डेनियलले दुई घन्टा २१ मिनेट ३२ सेकेन्डमा दौड पूरा गर्दै पहिलो भए । नेपालका दिपकमान तामाङ दुई घन्टा ३१ मिनेट २ सेकेन्ड समयसहित दोस्रो स्थानमा रहँदा, भरत गुरुङले दुई घन्टा ३१ मिनेट ४ सेकेन्डमा फिनिश गरी तेस्रो स्थान हासिल गरे ।
महिला वर्गमा नेदरल्यान्ड्सकी एनीले दुई घन्टा ४५ मिनेटमा दौड पूरा गर्दै पहिलो भइन् । अमेरिका–जर्मनीकी सोन्या मार्टिन दुई घन्टा ५८ मिनेट ३० सेकेन्डमा दोस्रो र आइसल्यान्डकी सोफी स्टाइनकर तीन घन्टा ९ मिनेट १३ सेकेन्डमा तेस्रो स्थानमा रहिन् ।
नयाँ धावक तथा मनोरञ्जनात्मक सहभागीका लागि आयोजना गरिएको ७ किलोमिटरको फन रन/हाइकमा नेपालका डा. आकार शेर्पालीले एक घन्टा ३ मिनेटमा दौड पूरा गर्दै प्रथम स्थान हात पारे । अमृत शाही ठकुरी एक घन्टा ४ मिनेटसहित दोस्रो र सुजन श्रेष्ठ एक घन्टा ९ मिनेटसहित तेस्रो बने । महिला वर्गमा निशा महर्जन एक घन्टा १० मिनेटमा पहिलो, अमेरिकाकी एरिका मिक्स एक घन्टा २७ मिनेटमा दोस्रो र अमेरिकाकै ग्वेन्डोलिन सेइफर एक घन्टा २९ मिनेटमा तेस्रो स्थानमा रहे ।
हात्तीवन, चम्पादेवी, भश्मेश्वर, पुरानो दक्षिणकाली हुँदै फर्पिङमा सम्पन्न प्रतियोगितामा नेपाल, अमेरिका, आइसल्यान्ड, युके, नेदरल्यान्ड्स, डेनमार्क, जापान, भारत, फ्रान्स, स्वीडेन, बेल्जियम, नवेँ र जर्मनीका गरी ११० जना धावक/धाविकाको सहभागिता थियो ।
यस वर्षको केभिआर समिट च्यालेन्ज पाँच चरणमा सम्पन्न हुने कार्यक्रम रहेको छ । दोस्रो चरण नोभेम्बर ८ मा, तेस्रो चरण डिसेम्बर ८ मा, चौथो चरण सन् २०२६ जनवरी १० मा र अन्तिम चरण फेब्रुअरी १ मा आयोजना गरिने छ ।
“स्वस्थ रहौं, रमाइलो गरौं, र ट्रेलमै नेपाललाई चिनाऔं” भन्ने नारासहित ट्रेलमान्डु नेपालले प्रतियोगिता सञ्चालन गरेको हो । विजेताहरुलाई नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि निरज श्रेष्ठले पुरस्कार वितरण गरे ।





