
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको विद्यालयस्तरीय आँखा परीक्षण कार्यक्रममार्फत ११ हजार ६३७ विद्यार्थीमध्ये एक हजार २६० जनामा दृष्टिसम्बन्धी समस्या पाइएको छ ।
कामपा स्वास्थ्य विभागले नेपाल नेत्र ज्योति सङ्घ र कीर्तिपुर आँखा अस्पतालसँग सहकार्य गरी प्रत्येक वडाबाट कम्तीमा एक विद्यालय छनोट गरेर परीक्षण गरेको हो । विभागका प्रमुख दीपककुमार केसीका अनुसार कक्षा १ देखि १० सम्मका ६ हजार १७५ जना छात्र र ५ हजार ४६२ जना छात्राको आँखा परीक्षण गरिएको थियो ।
जाँच परिणामअनुसार करिब १० दशमलव ८३ प्रतिशत विद्यार्थीमा नजिक वा टाढा देख्न नसक्ने समस्या पाइएको छ भने ३०४ जनामा (करिब २ दशमलव ६१ प्रतिशत) विभिन्न खालका आँखाका रोग देखिएका छन् । परीक्षणपछि आवश्यकता अनुसार ११ प्रकारका औषधि वितरण गरिएको विभागले जनाएको छ ।
स्वास्थ्य विभागका अनुसार यस कार्यक्रमले दृष्टि समस्या भएका विद्यार्थी पहिचान गरी तत्काल उपचार सुनिश्चित गर्नुका साथै विद्यार्थीहरूमा आँखाको स्वच्छता र हेरचाहप्रति सचेतना बढाउने उद्देश्य राखेको छ । साथै शिक्षक र अभिभावकलाई पनि आँखाको स्वास्थ्यसम्बन्धी जानकारी प्रदान गरिएको बताइएको छ ।
जाँचका क्रममा विद्यालय उमेरका बालबालिकाको दृष्टि संरक्षणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने, बहुक्षेत्रीय सहकार्य सुदृढ गर्नुपर्ने, र तथ्याङ्कको प्रभावकारी उपयोगसहित नीति निर्माणमा जोड दिनुपर्ने सुझाव प्राप्त भएको छ । साथै विद्यालयका शिक्षक तथा कर्मचारीलाई दृष्टिदोष पहिचान र प्राथमिक उपचारसम्बन्धी सीप अभिवृद्धि गराउनुपर्ने सिफारिस गरिएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विश्वभर करिब दुई करोडभन्दा बढी मानिस दृष्टि कमजोरी वा दृष्टिविहीनताबाट पीडित छन् । प्रत्येक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाइन्छ । यस वर्ष “दृष्टि, प्रविधि र भविष्य” नाराका साथ दिवस मनाइँदैछ ।





