
झापा । डिभिजन वन कार्यालय, झापाले गत वर्षदेखि हालसम्म विभिन्न प्रजातिका दुई लाख १० हजार बिरुवा उत्पादन गरेको जनाएको छ ।
कार्यालयका सूचना अधिकारी अमृतकुमार लिम्बूका अनुसार उत्पादन भएका बिरुवामध्ये एक लाख १० हजार ४७० बिरुवा वितरण गरिएका छन् । तीमध्ये ६६ हजार २८२ बिरुवा सामुदायिक वन उपभोक्ता समूहहरूलाई र ४४ हजार १८८ बिरुवा निजी व्यक्तिहरू तथा सङ्घ–संस्थाहरूलाई वितरण गरिएको हो ।
लिम्बूले बताएअनुसार ती बिरुवाबाट सामुदायिक वन क्षेत्रमा ४१ दशमलव ४२ हेक्टर र निजी तथा संस्थागत क्षेत्रमा २७ दशमलव ६१ हेक्टर भू–भागमा वृक्षरोपण गरिएको छ ।
वन कार्यालयले लटहर, अर्जुन, तेजपात, बाँस, आउटेंगा, कुसुम, विजयसाल, कदम, मलेसियन साल, टिक, खमारी, टाँकी, वीरेन्द्रफूल, गोल्डमोहर, अमला, बकाइनो, जामुन, बडहर, जाडुल, किम्बुललगायत प्रजातिका बिरुवा उत्पादन र वितरण गरेको जनाएको छ ।
हाल झापामा डिभिजन वन कार्यालयअन्तर्गत पाँच वटा नर्सरी सञ्चालनमा रहेका छन् । ती नर्सरीहरूमा करिब ९९ हजार ५३० बिरुवा बाँकी रहेको कार्यालयले जनाएको छ ।





