
दाङ । उच्च अदालत तुलसीपुरले आइतबारदेखि मुद्दा दर्ता र सुनुवाइसहितका नियमित सेवा सञ्चालन गर्ने भएको छ । अदालतका रजिष्ट्रार यमप्रसाद बास्कोटाका अनुसार आइतबारदेखि रिट, निषेधाज्ञा, मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ अनुसारका निवेदन दर्ता र सुनुवाइका कार्यहरू सुरु हुनेछन् ।
यसअघि अदालतमा बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदन मात्र दर्ता गर्ने कार्य सञ्चालन भइरहेको थियो ।
रजिष्ट्रार बास्कोटाले हालका मुद्दाहरूको कामकारबाही र नयाँ पुनरावेदन दर्ता गर्ने प्रक्रियाबारे थप जानकारी अर्को सूचनामार्फत सार्वजनिक गरिने जानकारी दिए ।
‘जेनजी’ आन्दोलनका क्रममा अदालतमा आगजनी भएपछि नियमित सेवा प्रभावित बनेको थियो ।





