तिहारमा विदेशी फूल बिक्रीमा प्रतिबन्ध, स्वदेशी उत्पादनलाई प्रोत्साहन



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहार पर्वको अवसरमा विदेशी फूलमाला बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । महानगरले स्वदेशी किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले यो निर्णय गरेको जनाएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महानगर प्रहरी बलका प्रमुख, वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले अवैध रूपमा आयात गरिएका फूलमालामाथि निगरानी बढाइने र ती जफत गरिने जानकारी दिए । उनका अनुसार स्वदेशमा उत्पादित फूलको प्रयोगलाई बढावा दिन महानगरले आगामी कात्तिक १ देखि ६ गतेसम्म ३२ स्थानमा फूल बिक्री केन्द्र सञ्चालन गर्ने भएको छ ।

“अवैध रूपमा ल्याइएका विदेशी फूल बिक्रीमा प्रतिबन्ध लगाउनु र स्वदेशी फूलको प्रयोग बढाउनु नै हाम्रो उद्देश्य हो,” पाण्डेले भने, “यस वर्ष महानगरले नेपालमै उत्पादन भएका फूलमाला सहज रूपमा उपलब्ध गराउन विशेष व्यवस्था गरेको छ ।”

महानगरले स्थापना गर्न लागेको फूल बिक्री केन्द्र नयाँबानेश्वरस्थित एनभी सेन्टर, शङ्खमुलको बिगमार्ट, बत्तिसपुतलीको फोनेक्स टावर, चाबहिल गणेशस्थान, केएल टावर, स्वयम्भुको धर्मचक्र पार्क, कालिमाटी, कलङ्की, महाराजगञ्ज, बालुवाटार, पुतलीसडक, अनामनगर, सुन्धारा, पुरानो बसपार्कलगायतका स्थानमा रहनेछन् ।

नेपाल चेम्बर अफ कमर्शका कृषि, वन तथा जडीबुटी समितिका सभापति कृष्णमान श्रेष्ठले विगत तीन वर्षदेखि महानगरको सहकार्यमा स्वदेशी फूललाई प्रोत्साहन गर्ने अभियान चलाउँदै आएको बताए ।

त्यस्तै, नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले कृषक र राज्यको समृद्धिका लागि महानगरको नीतिलाई कार्यान्वयन गर्न एसोसिएसनले सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले आगामी असोज २९ देखि कात्तिक २ गतेसम्म १८औँ गोदावरी फूल प्रतियोगिताको आयोजना हुने जानकारी पनि दिए ।

एसोसिएसनका अनुसार काठमाडौँ उपत्यकामा मात्र यस वर्ष तिहारका लागि करिब ४० लाख माला खपत हुने अनुमान छ । नेपालमै उत्पादन भएका फूलहरूले यो माग पूरा गर्न सक्ने विश्वास संघले व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्