नेपाल–भारत सीमाको स्थलगत अनुगमन



सिराहा । जिल्ला सुरक्षा समिति सिरहाले आज नेपाल–भारत सीमावर्ती विभिन्न नाकाको स्थलगत अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) वसन्त अधिकारीको नेतृत्वमा गएको टोलीले कमलानदीको पटहरवा हुँदै माडर, २ नम्बर गेट, बुधौरा, लकडीगोठ, गढियानी, सोरहवा, इटाटार, भट्टीमोड र गागल खोलासम्मका सीमा क्षेत्र अवलोकन गरेको हो ।

प्रजिअ अधिकारीका अनुसार टोलीले सीमा स्तम्भहरूको अवस्था, तस्करी तथा आपराधिक गतिविधिका सम्भावना र सुरक्षाकर्मीहरूको परिचालन अवस्थाबारे प्रत्यक्ष जानकारी लिएको छ । उनले माडर वसपार्क क्षेत्रमा भइरहेका अनैतिक क्रियाकलाप रोक्न आवश्यक कदम चालिने बताउँदै मट्टीमोड क्षेत्रमा भएको दशगजा अतिक्रमण सात दिनभित्र हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिइएको जानकारी दिए ।

‘सीमामा सुरक्षालाई थप प्रभावकारी बनाउने र अवैध क्रियाकलाप नियन्त्रणमा ल्याउने उद्देश्यले अनुगमन गरिएको हो,’ प्रजिअ अधिकारीले भने । ‘खटिएका सुरक्षाकर्मीको मनोबल बढाउनु र स्थानीय तहसँग सहकार्य गर्नु हाम्रो प्राथमिकता हो । बाँकी स्थानहरूको पनि नियमित अनुगमन गरिनेछ ।’

अनुगमनका क्रममा टोलीले सीमामा खटिएका सुरक्षाकर्मीहरूसँग तस्करी तथा अपराध नियन्त्रणबारे छलफल गरेको थियो । साथै, स्थानीय बासिन्दासँग अन्तरक्रिया गरी सीमाक्षेत्रमा सुरक्षाको उपस्थिति अझ सशक्त बनाउनुपर्ने माग सुनेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्