
काठमाडौँ । गत भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा देशभर भएका तोडफोड, लुटपाट र आगजनीबाट ठूलो क्षति व्यहोरेको नेपाली कांग्रेसले आफ्नै जलेको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमै बैठक गरेको छ । बिहीबार सुरु भएको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक शुक्रबार पनि जारी छ ।
भदौ २४ गते प्रदर्शनकारीहरूले कांग्रेसको केन्द्रीय कार्यालयमा आगजनी गरी भवनलाई पूर्णरूपमा ध्वस्त बनाएका थिए । कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार आगलागीमा कार्यालयका कुनै पनि सामग्री बाँकी छैनन् र करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति र असोज २६ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकका सम्भावित एजेन्डा लगायतका विषयमा छलफल भएको बताइएको छ । जेनजी आन्दोलनपछि पार्टीको शीर्ष तहको यो पहिलो बैठक हो ।
उक्त आन्दोलनका क्रममा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी धर्मपत्नी तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि समेत साङ्घातिक हमला र निवासमा आगजनी भएको थियो । स्वास्थ्य लाभमा रहेका देउवा बिहीबारको बैठकमा सहभागी भएनन् । तर, पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार उनी असोज २६ गते हुने केन्द्रीय समितिको बैठकमा भने सहभागी हुनेछन् ।
पार्टी उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकमा पदाधिकारीहरूले हालको राजनीतिक अस्थिरता र पार्टीभित्र देखा परेका चुनौतीहरूबारे आ–आफ्ना धारणा राखेका थिए । बैठकमा पार्टीलाई संकटपूर्ण अवस्थामा कसरी अघि बढाउने र नियमित अधिवेशन समयमै गर्नुपर्ने विषयमा पनि जोड दिइएको थियो ।
कांग्रेसका अनुसार ‘जेनजी’ आन्दोलनका क्रममा देशभर ९५ जना नेता तथा कार्यकर्ताका निजी निवास र ४८ जिल्लाका पार्टी कार्यालयमा तोडफोड, लुटपाट र आगजनी भएका थिए । पार्टीले राष्ट्रिय तथा निजी सम्पत्तिमाथि आगजनी र तोडफोड गर्नेहरूलाई कारबाही नगरेसम्म आगामी निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्ने चेतावनी दिएको छ ।
आन्दोलनपछि बनेको अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरिसकेको छ ।





