
झापा । झापामा विगत दुई दशकयता मानव–हात्ती द्वन्द्वका कारण ७२ जनाले ज्यान गुमाएका छन् । यस अवधिमा २६ वटा हात्ती पनि मरेका छन्, जसमा १४ हात्ती गैरकानुनी रूपमा राखिएका विद्युतीय धरापका कारण मारिएका हुन् ।
डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार हात्तीको आक्रमणबाट ७२ जनाको मृत्यु भएको छ । त्यस्तै, अनुसन्धान तथा ‘पोस्टमार्टम रिपोर्ट’का आधारमा १४ हात्ती गैरकानुनी नाङ्गो तारवारमा परेर मरेको पुष्टि भएको छ ।
श्रेष्ठले जथाभावी रूपमा टाँगिएका तारवार नियन्त्रणमा नलिए हात्ती मात्र नभई मानिसका लागि पनि ठुलो जोखिम हुने चेतावनी दिएका छन् । उनका अनुसार हात्ती प्रभावित क्षेत्रमा स्थानीयवासीले अन्नबाली र घरगोठको सुरक्षाको नाममा नाङ्गो तारवार टाँग्ने गरेका छन्, जसले वन्यजन्तु र मानव दुवैको जीवन जोखिममा पारिरहेको छ ।
‘विद्युत् प्राधिकरण र स्थानीय पालिकालाई समस्या समाधानका लागि पत्राचार गरिसकेका छौँ,’ प्रमुख श्रेष्ठले भने, ‘तर किसानहरूले अझै पनि रातभर करेन्ट प्रवाह गरी बिहान मात्रै बन्द गर्ने गलत अभ्यास रोकिएको छैन ।’
उनले घरदैलो अभियानमार्फत विद्युतीय धराप नराख्न अनुरोध गरे पनि पर्याप्त सहयोग नपाएको बताए । उनका अनुसार असुरक्षित तारमा करेन्ट प्रवाह गर्दा हात्ती मात्र नभई मानिसको समेत ज्यान जाने खतरा छ ।
भारतबाट समेत झापा क्षेत्रमा हात्ती आउने भएकाले यहाँ मानव–हात्ती द्वन्द्वको समस्या अझ जटिल बन्दै गएको वन कार्यालयले जनाएको छ ।





