अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण जितेकी एरिका गुरुङलाई नेपाल प्रहरीले सम्मान




काठमाडौं, असोज २४ गते ।

नेपाल प्रहरीले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जितेकी एरिका गुरुङलाई शुक्रबार सम्मान गरेको छ ।

विश्व कराते महासंघ (WKF) को आयोजनामा असोज १७ देखि १९ गतेसम्म मलेसियाको क्वालालम्पुरमा सम्पन्न ‘डब्लुकेएफ कराते वान सिरिज–ए’ प्रतियोगितामा एरिकाले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।

कुमिते ६८ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गरेकी एरिकाले ट्युनिसियाकी मसाक्नी टेस्निम, चेक गणराज्यकी हाकोभा अमाली र पोल्यान्डकी डेनिस्जेव्स्का जुलियालाई पराजित गर्दै स्वर्ण पदक हात पारिन् । सेमिफाइनलमा हाकोभालाई ७–० ले हराएकी उनले फाइनलमा मसाक्नीलाई २–० ले पराजित गर्दै नेपालको नाम उज्यालो बनाइन् ।

कराते वान सिरिज ‘ए’ मा स्वर्ण जित्ने एरिका पहिलो नेपाली खेलाडी बनेकी हुन् ।

यस अवसरमा नेपाल प्रहरीले आगामी डब्लुकेएफ सिनियर विश्व च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि फ्रान्स प्रस्थान गर्न लागेका स्वनिम मानन्धर र सविना श्रेष्ठलाई बिदाइ पनि गरेको छ । फ्रान्स कराते महासंघको आयोजनामा असोज ३१ देखि कार्तिक २ गतेसम्म पेरिसमा हुने उक्त प्रतियोगितामा सविनाले महिला ५५ केजीमुनि तौल समूहमा र स्वनिमले पुरुष एकल कातामा प्रतिस्पर्धा गर्नेछन् ।

१३औं दक्षिण एशियाली खेलका दोहोरो स्वर्ण विजेता तथा हाल राष्ट्रिय टिमका प्रशिक्षक मन्दे काजी श्रेष्ठका अनुसार, प्रतियोगिताको तयारी पूरा भएको छ ।

उनीहरूलाई नेपाल प्रहरी खेलकुद समितिका सदस्यसचिव तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धीविक्रम शाहाले सम्मान गर्दै बधाई तथा आगामी खेलका लागि शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्