
काठमाडौं, असोज २४ गते।
काठमाडौं महानगरपालिका–७ को आयोजनामा हुने पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उद्घाटन खेल फ्रिडम ‘ए’ र जोरपाटी भेट्रानबीच हुने भएको छ। प्रतियोगिता शनिबारदेखि सुरु हुनेछ। पहिलो दिन उद्घाटन खेलसहित सात खेल हुने कार्यक्रम तय गरिएको छ।
‘सिक्स ए साइड’ प्रारूपमा आयोजना हुने यस नकआउट प्रतियोगितामा कुल २० टिम सहभागी हुने वडाध्यक्ष विमलकुमार होडाले जानकारी दिए।
चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगितामा विजेताले नगद १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। त्यस्तै, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्ट्राइकर, गोलरक्षक र डिफेन्डरलाई जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगिता सञ्चालनमा करिब ४ लाख ९५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने संयोजक सुरेश शाहीका अनुसार खेलहरू असोज २९ गतेसम्म चन्द्रविनायक पार्कस्थित चावहिल मैदानमा सञ्चालन हुनेछन्।
यसअघि जेनजी आन्दोलनका कारण स्थगित भएको प्रतियोगिता मूलतः भदौ २८ देखि असोज २ गतेसम्म आयोजना गर्ने योजना थियो।





