
हुम्ला । अविरल हिमपातका कारण हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी उपत्यकालाई जोड्ने न्यालु सडक अवरुद्ध भएको छ । सडक बन्द भएपछि लाप्चा नजिक छ वटा सवारीसाधनमा रहेका आन्तरिक पर्यटक अलपत्र परेका छन् ।
सिमकोट गाउँपालिका–५ का उब्जन रावतका अनुसार सडकमा बाक्लो हिउँ जमेकाले यात्रुहरूलाई गन्तव्यसम्म पुग्न कठिनाइ भएको छ । उनले सडक सफा गर्न कम्तीमा चार दिन लाग्ने अनुमान गरेका छन् ।
समुद्र सतहदेखि करिब पाँच हजार मिटर उचाइमा रहेको न्यालु क्षेत्रमा लगातारको हिमपातले तिल, हल्जी र जाङका बासिन्दा बढी प्रभावित भएका छन् ।





