
झापा । बाहुनडाँगी क्षेत्रमा धान पाक्ने समय नजिकिँदै जाँदा सीमावर्ती भारतीय जंगलबाट हात्तीको प्रवेश जोखिम बढेपछि डिभिजन वन कार्यालय झापाले विशेष गस्ती टोली परिचालन गरेको छ ।
डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार सशस्त्र वन रक्षकको नेतृत्वमा छ जनाको टोली असोज ८ गतेदेखि निरन्तर गस्तीमा खटिएको छ । किसानले धान भित्र्याउने कार्य सम्पन्न नभएसम्म सो टोली सक्रिय रूपमा गस्तीमा रहने उनले जानकारी दिए ।
गत वर्षहरूमा हात्तीको हुलले बाहुनडाँगी क्षेत्रमा व्यापक रूपमा बाली नष्ट गरेको स्मरण रहँदै आएको छ । विगत दुई दशकको अवधिमा हात्तीको आक्रमणमा परी झापामा ७५ जनाको ज्यान गइसकेको छ भने विभिन्न कारणले २५ वटा हात्तीको मृत्यु भएको तथ्याङ्क डिभिजन वन कार्यालयले जनाएको छ ।





