
काठमाडौँ । मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा विश्व मानसिक स्वास्थ्य दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ । मानसिक स्वास्थ्य बिना मानवको समग्र स्वास्थ्य सम्भव नहुने सन्देश प्रवाह गर्न सन् १९९२ देखि यो दिवस मनाउन थालिएको हो ।
यस वर्षको दिवसले प्राकृतिक प्रकोप, द्वन्द्व, र सार्वजनिक स्वास्थ्य आपतकालका बेला प्रभावित व्यक्तिहरूलाई मनोसामाजिक परामर्श र तत्काल सहयोग आवश्यक रहेको विषयमा जोड दिएको छ ।
संयुक्त राष्ट्रसङ्घले राजनीतिक नेतृत्व, सरकारी निकाय, स्वास्थ्यकर्मी, सामाजिक सेवा प्रदायक, विद्यालयका कर्मचारी तथा सामुदायिक समूहहरू सबैलाई एकताबद्ध भई प्रत्येक व्यक्तिको मानसिक स्वास्थ्य सुदृढ बनाउन योगदान पुर्याउन आह्वान गरेको छ ।
“मन स्वस्थ भए तन स्वस्थ हुन्छ” भन्ने सन्देशका साथ विश्व स्वास्थ्य सङ्गठनले सदस्य राष्ट्रका नागरिकहरूलाई मानसिक स्वास्थ्यप्रति सचेत रहन र त्यसको प्रवर्द्धनमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ ।





