सडक अवरुद्ध हुँदा जलजला पुग्न सकेनन् पर्यटक |



बागलुङ । अघिल्ला वर्षहरूमा दसैँको समयमा आन्तरिक तथा बाह्य पर्यटकले जलजलाको रमणीय दृश्य अवलोकन गर्ने गर्दथे । तर यस वर्ष लगातारको वर्षा र सडक अवरुद्ध भएपछि ढोरपाटन उपत्यका र बुकी पाटनसम्म पुगेका पर्यटक फर्किन बाध्य भएका छन् । नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने जलजला बागलुङ र म्याग्दी दुवै जिल्लाबाट जोडिएको पर्यटकीय गन्तव्य हो, जहाँबाट हिमशृङ्खला र सूर्योदयको अद्भुत दृश्यावलोकन गर्न सकिन्छ ।

पाँच वर्षअघि सम्म ओझेलमै रहेको जलजलाको लोकप्रियता पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढेको छ । प्रचारप्रसारसँगै हिउँदयाममा समेत पर्यटक यहाँ पुग्ने गरेका छन् । ढोरपाटन उपत्यकाबाट करिब २२ किलोमिटर पश्चिममा अवस्थित जलजलासम्म गत वर्ष मात्रै सडक पुगेको हो । ढोरपाटन र म्याग्दीको धवलागिरि गाउँपालिकाबाट तल्लो जलजलासम्म सडक सञ्जाल विस्तार भए पनि बर्खायाममा सवारीसाधन सञ्चालन हुन नसक्दा पर्यटकले कठिनाइ भोग्नुपरेको छ ।

घनाजङ्गल र भीरपाखा पार गर्नुपर्ने ढोरपाटन–जलजला मार्गमा यो वर्ष पानीका कारण गाठेसाँघु जडान हुन नसक्दा पर्यटक जलजला पुग्न सकेनन् । ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनका अनुसार तीन स्थानमा साँघु हाल्नुपर्ने भए पनि निरन्तर वर्षाका कारण हाल्न नपाइएको हो । “गत वर्षदेखि जलजला आउने पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ, तर यो वर्ष लामो वर्षा र सडक बिग्रिएकाले यात्रुहरू फर्किनुपरेको छ,” उनले भने ।

पुनका अनुसार ढोरपाटन–जलजला सडकको गुरुघाट र गुर्जाघाटमा काठका साँघु पुनः जडान गर्नुपर्ने छ । गत वर्ष हालिएको साँघु बर्खाको बाढीले बगाएपछि अहिले सडक सफाइ र मर्मतको तयारी भइरहेको उनले बताए । म्याग्दीको धवलागिरि गाउँपालिकाले मरेनी सडक सफा गरेपछि जलजला पुग्न सहज हुने उनको भनाइ छ । हाल दैनिक झन्डै एक सय पर्यटक ढोरपाटन पुग्ने गरेको र उनीहरू जलजला जान नपाउँदा असन्तुष्टि व्यक्त गर्ने गरेको समेत उनले बताए ।

समुद्री सतहबाट तीन हजार ४०० मिटर उचाइमा अवस्थित जलजलाबाट धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरी, गुर्जा, पुथा, चुरेन लगायतका हिमाल एकै साथ नजिकैबाट अवलोकन गर्न सकिने भएकाले यसको आकर्षण बढ्दो छ ।

तुलसीपुर दाङबाट घुम्न आएका रावल रोकायाले सडक अवरुद्ध हुँदा जलजला पुग्न नसकेको गुनासो गरे । “ढोरपाटनबाट मोटरसाइकलमै पुगिन्छ भन्ने सुनेको थिएँ, तर बाटो अझै व्यवस्थित भइसकेको रहेनछ, ठाउँठाउँमा पहिरो र खोलाका कारण यात्रा सम्भव रहेन,” उनले भने । १२ जनाको समूहसहित आएका रोकायाले जलजला पुग्ने योजना असफल भएपछि बुकी पाटनसम्म पुगेर फर्किएको बताए ।

हाल जलजला घुम्न आएका धेरैजसो पर्यटक ढोरपाटन उपत्यकाबाटै फर्किन बाध्य भएका छन् । अध्यक्ष पुनका अनुसार सडक सफाइ र साँघु जडान कार्य सम्पन्न भएलगत्तै तिहारसम्ममा पर्यटक फेरि जलजला पुग्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्