नेपाली क्रिकेट खेलाडीका नाममा हुलाक टिकट सार्वजनिक |



काठमाडौँ, असोज २५ गते ।
हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरूको तस्वीर अंकित विशेष हुलाक टिकट सार्वजनिक गरेको छ । विश्व हुलाक दिवस–२०२५ का अवसरमा बुधबार विभागमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले टिकटमा टाँचा लगाएर विमोचन गरेका हुन् ।

सो अवसरमा आईसीसी पुरुष विश्वकप र आईसीसी महिला यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी नेपाली खेलाडीहरूको तस्वीर समावेश गरिएको हुलाक टिकटको प्रदर्शनीसमेत गरिएको थियो ।

हुलाक सेवा विभागका अनुसार अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध सुदृढ गर्न खेलकुदमार्फत महत्वपूर्ण योगदान पुर्‍याएका नेपाली क्रिकेट खेलाडीहरूको सम्मानस्वरूप उक्त टिकट प्रकाशन गरिएको हो । विभागले २०८१ साल चैत १७ गतेको निर्णयअनुसार प्रतिटिकट १० रुपैयाँ दरका पाँच लाख प्रति टिकट छपाएको जनाएको छ ।

नेपालले सन् २०२४ जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न नवौँ संस्करणको आईसीसी पुरुष विश्वकपमा सहभागिता जनाएको थियो । यसअघि एसियाली क्षेत्रको अन्तिम छनोट प्रतियोगितामा दोस्रो हुँदै नेपाली टिमले विश्वकप खेल्ने अवसर प्राप्त गरेको थियो । त्यस्तै, महिला यू–१९ क्रिकेट टिमले पनि विश्वकपमा नेपालको प्रतिनिधित्व गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्