मादले काँक्रो खेतीतर्फ कृषकको बढ्दो आकर्षण



तनहुँ । आँबुखैरेनी गाउँपालिकाका किसान पछिल्लो समय मादले काँक्रो खेतीतर्फ आकर्षित भएका छन् । स्थानीय स्तरमै बजार सुनिश्चित भएपछि किसानहरूको चासो यसतर्फ बढेको हो । हाल गाउँपालिकाका छ वटा कृषक समूहमा आवद्ध किसानहरूले मादले काँक्रो बिक्रीबाट करिब रु छ लाख ३५ हजार आम्दानी गरेका छन् ।

गाउँपालिका–५ लाब्दी भोटेश्वारका किसान वीरबहादुर गुरुङले गाउँपालिकाको सहयोगपछि उत्पादन र बिक्री दुवै बढेको बताए । उनले यस वर्ष ५० बोट काँक्रो खेती गरेर रु ४० हजार ५०० आम्दानी गरेका छन् । “पहिले बजार नपाउँदा काँक्रो कुहिने गर्थ्यो, अहिले भने बजार राम्रै छ,” उनले भने, “गाउँपालिकाले निःशुल्क हाटबजारसम्म ढुवानी व्यवस्था गरिदिएकाले बिक्री सहज भएको छ ।”

त्यसैगरी, सोही वडाका जितबहादुर गुरुङले रु ३० हजार ५००, तुलबहादुर गुरुङले रु १२ हजार ५००, सङ्गीता गुरुङले रु ४५ हजार ५००, लालश्री गुरुङले रु ४५ हजार ५००, तेजबहादुर गुरुङले रु २० हजार ५००, डिलुमाया गुरुङले रु १२ हजार ५००, रत्नमाया गुरुङले रु १४ हजार ५००, सीता गुरुङले रु ९ हजार ५००, रजमाया गुरुङले रु १० हजार ५००, फूलमाया गुरुङले रु ३५ हजार ५००, धनमाया गुरुङले रु १५ हजार ५०० र खड्क गुरुङले रु ५० हजार बराबरको मादले काँक्रो बिक्री गरेका छन् ।

छिम्केश्वरी कृषक समूहका यी किसानहरूले मात्रै रु चार लाख तीन हजार बराबरको काँक्रो बिक्री गरेको समूहका सदस्य जितबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार सोमबार र शुक्रबार लाग्ने स्थानीय हाटबजारमा मादले काँक्रोको राम्रो माग भइरहेको छ । “गाउँपालिकाले बजारमा सहयोग गर्ने प्रतिबद्धता जनाएपछि किसान ढुक्क भएका छन्, यही कारणले आकर्षण बढेको हो,” उनले बताए ।

गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार यहाँका किसानहरूले हालसम्म करिब पाँच हजार ५०० केजी मादले काँक्रो उत्पादन गरी बिक्री गरेका छन् । जसअनुसार छिम्केश्वरी कृषक समूहले रु चार लाख तीन हजार, घलडाँडा समूहले रु एक लाख नौ हजार, केउरिनी समूहले रु ७६ हजार, माई छिम्केश्वरी समूहले रु १८ हजार, खोलागाउँ समूहले रु तीन हजार र एकता कृषक समूहले रु २६ हजार बराबरको काँक्रो बिक्री गरेका छन् । यसबाट ४४ जना किसान प्रत्यक्ष लाभान्वित भएका छन् ।

उनका अनुसार गाउँपालिका–५ र ६ मा यो खेती बढी फस्टाएको छ । विगतमा रोग–कीरा, प्राविधिक ज्ञानको कमी र बजार अभावका कारण उत्पादनमा समस्या थियो । “गाउँपालिकाले मादले काँक्रोलाई रैथाने बालीका रूपमा प्रवर्द्धन गरेपछि यी समस्या घटेका छन्,” केसीले बताए ।

उनले थपे, “यस वर्ष ४४ किसानले पाँच दशमलव पाँच मेट्रिक टन काँक्रो उत्पादन र बिक्री गर्न सफल भएका छन् । पहिले बजारको अभाव थियो, तर हाटबजारमार्फत बिक्री सुरु भएपछि किसानहरू उत्साहित र प्रोत्साहित भएका छन् ।”

गाउँपालिका–२ मा प्रत्येक सोमबार र गाउँपालिका–३ मा प्रत्येक शुक्रबार लाग्ने हाटबजारमा किसानहरूले आफ्ना उत्पादन ल्याएर बिक्री गर्ने गरेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्