बढी–पहिरोले क्षतिग्रस्त खानेपानी प्रणालीको विवरण संकलन सुरु |



काठमाडौँ । अविरल वर्षाका कारण देशभरका खानेपानी तथा सरसफाइ प्रणालीमा पुगेको क्षतिको विवरण संकलन कार्य सुरु गरिएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागले सातै प्रदेशका कार्यालयहरूलाई क्षतिको प्रारम्भिक विवरण संकलन गरी केन्द्रमा पठाउन निर्देशन दिएको हो ।

विभागका महानिर्देशक ई. कमलराज श्रेष्ठका अनुसार देशभर रहेका १५ वटा खानेपानी तथा ढल व्यवस्थापन कार्यालयलाई यस सम्बन्धी परिपत्र गरिएको छ । “बाढी–पहिरोले गरेको क्षतिको विवरण पठाउनका लागि सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिइसकेका छौँ,” उनले भने, “खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई पनि आफ्ना आयोजनाहरूमा भएको क्षतिको विवरण सम्बन्धित कार्यालयमा पठाउन आग्रह गरेका छौँ ।”

श्रेष्ठका अनुसार संकलित विवरणका आधारमा तत्काल राहतदेखि दीर्घकालीन पुनःस्थापनासम्मका योजना तयार गरिनेछ । विशेष गरी इलाम र तराईका जिल्लामा बाढी–पहिरोका कारण खानेपानी आपूर्तिमा ठूलो क्षति पुगेको भन्दै उनले संकलनपछि प्रभावित क्षेत्रको पहिचान, क्षतिको प्रकार, अनुमानित लागत र पुनःस्थापनाको प्राथमिकता निर्धारण गर्न सहज हुने बताए ।

विभागका अनुसार असोज १८ र १९ गतेको अविरल वर्षाले पहाडी र भिरालो भूभागका धेरै खानेपानी स्रोत तथा वितरण प्रणालीमा गम्भीर असर पुर्‍याएको छ । पाइपलाइन बगाउने, इन्टेक संरचना भत्काउने, जलाशय ट्याङ्की माटो–ढुङ्गाले पुरिने, मोटर पम्प डुबानमा पर्ने र सरसफाइ उपकरणहरू नष्ट हुनेजस्ता समस्या देखिएका छन् ।

गत वर्ष असोज ११ र १२ गतेको वर्षा र बाढी–पहिरोबाट खानेपानी तथा सरसफाइ क्षेत्रमा करिब चार अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको खानेपानी मन्त्रालयले जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्