
रामेछाप । असोज १७ र १८ गतेको अविरल वर्षाबाट रोशी खोलामा आएको बाढीले बिपी राजमार्गका अधिकांश खण्ड बगाएपछि आवागमनमा समस्या उत्पन्न भएको छ । राजमार्ग अवरुद्ध भएपछि तराईका विभिन्न भाग र पूर्वी जिल्लाबाट आउने साना तथा ठूला सवारीसाधनहरूले वैकल्पिक मार्गको रूपमा खुर्कोट–मन्थली–चरिकोट–मुडेदेखि खाडिचौर हुँदै दोलालघाटसम्मको सडक प्रयोग गर्न थालेका छन् ।
सवारी व्यवस्थापनलाई सहज बनाउन ट्राफिक प्रहरीले मन्थलीस्थित देवकोटा चोकबाट प्रहरी कार्यालय हुँदै बसपार्क हुँदै काठमाडौँतर्फ जाने सवारीका लागि एकतर्फी रुट निर्धारण गरेको छ । त्यस्तै, काठमाडौँबाट आउने सवारीसाधनहरूलाई बसपार्कबाट कटहरबोट चोक हुँदै देवकोटा चोकसम्मको मार्ग प्रयोग गराउने गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेका अनुसार बिपी राजमार्ग बन्द भएपछि तराईदेखि कोशी प्रदेशका विभिन्न जिल्ला र काठमाडौँ आवागमन गर्ने अधिकांश सवारीसाधनले यही वैकल्पिक सडक प्रयोग गरिरहेका छन् । उनले दसैँ मनाएर कार्यस्थल फर्किने यात्रुको सहजताका लागि प्रहरी निरन्तर सक्रिय रहेको जानकारी दिए ।





