
दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेका तनहुँका विभिन्न सरकारी कार्यालयहरूको बुधबार निरीक्षण गरेका छन् । गत भदौ २४ गतेको आन्दोलनका क्रममा क्षति पुगेका कार्यालयहरूको अवस्थाबारे जानकारी लिन मुख्यमन्त्री पाण्डेले स्थल भ्रमण गरेका हुन् ।
निरीक्षणका क्रममा उनले जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत र जिल्ला समन्वय समितिको कार्यालय अवलोकन गर्दै क्षतिको विवरणबारे चासो व्यक्त गरे । साथै, हाल ती कार्यालयबाट भइरहेको सेवाप्रवाहबारे जानकारी समेत लिए ।
मुख्यमन्त्री पाण्डेले प्रशासन कार्यालयका विभिन्न कक्ष, प्रमुख जिल्ला अधिकारीको निवास, अदालतका इजलास र अन्य कक्षहरूको अवस्थाको प्रत्यक्ष अवलोकन गरेका थिए । उनले आन्दोलनका कारण गण्डकी प्रदेशका धेरै जिल्लामा प्रशासनिक संरचनामा क्षति पुगेको उल्लेख गर्दै वैकल्पिक व्यवस्थाबाट नागरिक सेवामा सहजता ल्याउन सम्बन्धित निकायलाई आग्रह गरे ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले आगजनीपछिको पुनःस्थापनाबारे जानकारी दिँदै हाल नयाँ नागरिकता र प्रतिलिपिको कार्य सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार प्रशासन कार्यालयको भवन प्रयोग गर्न असुरक्षित भएकाले अन्य ठाउँमा कार्यालय सञ्चालनको तयारी भइरहेको छ ।
मुख्यमन्त्री पाण्डेले कृषि ज्ञान केन्द्रको भवनलाई अस्थायी रूपमा प्रशासन कार्यालयका लागि उपयुक्त विकल्पका रूपमा अध्ययन गरिएको बताए ।
निरीक्षणका क्रममा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी र प्रहरी उपरीक्षक टेकबहादुर कार्कीलगायत सहभागी थिए ।





