
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा उत्पादन भएको गाईको दूध अब पोखरासम्म पुग्ने भएको छ । स्थानीय बजारमा खपत नहुने अवस्था भएपछि बास्कुना कृषि सहकारी संस्थाले सङ्कलन गरेको दूध पोखरास्थित सुजल डेरी उद्योगलाई बिक्री गर्न थालेको हो ।
वडा कार्यालयको पहलमा कृषि सहकारी र सुजल डेरी प्रालिबीच दूध उत्पादन तथा खरिद–बिक्री सम्झौता भएपछि म्याग्दीबाट पहिलोपटक व्यावसायिक रूपमा दूध पोखरा पठाउन थालिएको सहकारीका अध्यक्ष तिलक गुरुङले जानकारी दिए ।
उनका अनुसार, म्याग्दीको बजारमा गाईको दूधको माग सीमित रहेकाले सहकारीले कृषकबाट दूध सङ्कलन गर्ने र उद्योगले आफ्नै व्यवस्थामा दूध खरिद गरी लैजाने व्यवस्था मिलाइएको हो । “पहिले भैँसीको दूध मात्रै स्थानीय बजारमा खपत हुन्थ्यो, तर अब गाई र भैँसी दुवैको दूध बिक्री हुने सुनिश्चित भएको छ । उद्योगले कृषकले उत्पादन गरेको सबै दूध खरिद गर्ने सहमति भएको छ,” अध्यक्ष गुरुङले बताए ।
सहकारीले सिंगाको पुलचोकमा दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना गरेको छ । कृषकले दैनिक रूपमा दूध ल्याउने र ५०० लिटरभन्दा बढी सङ्कलन भएपछि उद्योगले आफैं ढुवानी गर्ने व्यवस्था गरिएको छ । मङ्गलबार पहिलो दिन ७५० लिटर दूध सुजल डेरी उद्योगले खरिद गरेको सहकारीले जनाएको छ । हाल २० जना स्थानीय कृषक दैनिक दूध बिक्रीमा संलग्न छन् ।
डेरी उद्योगको ट्याङ्कर दुई दिनमा एकपटक सिंगामा पुगेर दूध ढुवानी गर्न थालेको छ । मेसिनमार्फत दूधको गुणस्तर परीक्षण गरी गुणस्तरका आधारमा मूल्य निर्धारण हुने व्यवस्था पनि गरिएको बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्काले बताए । उनका अनुसार, कृषकलाई हरेक १५ दिनमा दूधको रकम भुक्तानी गरिनेछ ।
वडाध्यक्ष खड्काका शब्दमा, “पहिले गाईको दूध बिक्री हुने अवस्था थिएन, अब बजार सुनिश्चित भएपछि किसानको समस्या समाधान भएको छ ।” गाईको दूधले स्थायी बजार पाउन थालेपछि सिंगामा गाईपालनतर्फ कृषकहरूको आकर्षण तीव्र बनेको छ । यसअघि शुभकामना कृषि सहकारी संस्थाले पनि स्थानीय दूध सङ्कलन गरी बेनी बजारमा बिक्री गर्दै आएको थियो ।





